वरिष्ठ बलरामबारे के भन्छन् कलाकार ?

काठमाडौं । अभिनेता दयाहाङ राईले ‘वरिष्ठ बलराम’ स्थापित र उदाउँदो व्यक्तिबीचको संघर्षको कथा भएको बताएका छन् । आफ्नो इज्जत र प्रतिष्ठा बचाइराख्न खोज्ने स्थापित व्यक्ति र त्यसलाई टक्कर दिँदै आफू स्थापित हुन खोज्ने उदाउँदो व्यक्तिबीचको कथा फिल्ममा रहेको उनले बताए । फिल्ममा स्थापित भइसकेको पात्र दयाहाङ हुन् भने उनलाई टक्कर दिन उदाउँदै गरेको अर्का पात्र विजय बराल हुन् ।

मान्छेको भित्री रुप जे भए पनि आवरणमा भने प्रतिष्ठित र वरिष्ठ भनाउन र देखाउन रुचाउने चरित्र हरेक व्यक्तिमा हुने उनी बताउँछन् । ‘मान्छे जस्तो सुकै होस् आवरणमा भने समाजमा ऊ वरिष्ठ र प्रतिष्ठित हुन चाहन्छ, यो मानवीय स्वभाव हो,’ दयाहाङ भन्छन्, ‘यो फिल्ममा यही कुरा छ । मेरो चरित्र पनि त्यही हो ।’

आफ्नो चरित्र र चाहनामा टक्कर दिँदै अर्को पात्र आफू वरिष्ठ देखिने लोभमा हुने संघर्ष फिल्ममा रहेको उनी बताउँछन् । अर्का अभिनेता विजय बरालले फिल्म सामान्य व्यक्तिबाट वरिष्ठ हुन चाहना राख्ने सोचको कथा भएको बताउँछन् । व्यक्तिमा रहेको सोचबीचको टकराब फिल्मको मुख्य विषय भएको उनले बताएका छन् ।

फिल्मका मुख्य दुई पात्र दयाहाङ र विजयको टकराबमा आफू बले पात्रका रूपमा रहेको उनले बताएका छन् । ‘फिल्मको नाम कसको नाममा रह्यो, कसको नाम बलराम हो भन्ने फिल्म रिलिज भएपछि र त्यसअघि ट्रेलरमा केही कुरा थाहा होला,’ विजय भन्छन्, ‘तर, फिल्ममा मलाई बले भनेर भनिएको छ । त्यसैले वरिष्ठ बलराम को हो नभनौँ तर बले भनेर मलाई बोलाइएको छ ।’

उनले फिल्म कलाकार दयाहाङसँग सिनेमामै भए पनि घम्साघम्सी र टकराब लिन केही कठिन भएको अनुभव सुनाए । ‘अग्रज र मैले मान्ने भएकाले दाइ के गरौँ, कसरी गरौँ भन्थेँ । दाइले अफ्ठ्यारो नमान्, यसरी गर भनेपछि, म गर्थें,’ विजय भन्छन्, ‘अग्रज र सधैँ सम्मान गर्ने कलाकार भएकाले केही अड चाहिँ हुनेरहेछ ।’

दयाहाङ भने सेटमा व्यक्ति भन्दा पनि चरित्र हुने भएकाले को सिनियर र जुनियर भन्ने नहुने बताउँछन् । आफूले पनि ‘दासढुंगा’मा गुरु अनुप बरालसँग यस्तै रोलमा काम गरेको उनले स्मरण गरे । ‘उहाँले चरित्रमा गुरुचेला हुँदैन, भँडास पोख्ने मौका पनि यही हो भन्नुभयो,’ दयाहाङ भन्छन्, ‘भँडास पोख्ने भनेर चरित्रभन्दा माथि चाहिँ जानु भएन । चरित्र निभाउन हिचकिचाहट मान्नु हुँदैन ।’

नायिका समृद्धि अर्याललले आफू फिल्ममा शो पिस मात्रै नरहेको बताउँछिन् । दुई अग्रज र अब्बल कलाकारको बीचमा आफ्नो पनि राम्रो रोल रहेको उनको भनाइ छ । ‘म जहाँजहाँ आउँछु, त्यहाँ इम्प्याक्टफुल भूमिका छ भन्ने लाग्छ,’ सम्वृद्धि भन्छिन्, ‘दुई लिड क्यारेक्टरलाई प्रभाव पार्ने खालको भूमिका छ ।’

कात्तिक ६ गते भाइटीकामा रिलिज हुने फिल्ममा सुरेन्द्र पौडेलको निर्देशन छ । फिल्ममा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङल, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी ९पीके० लगायत कलाकारको अभिनय छ ।