सिनेपा स्टुडियोलाई ३ करोड रुपैंयाँ अनुदान

काठमाडौं । बनेपामा निर्माण हुँदै गरेको अत्याधुनिक सुविधा सम्पन्न सिनेपाः स्टुडियोका लागि नेपाल सरकारले ३ करोड रुपैयाँको अनुदान बजेट प्रदान गर्ने भएको छ । शुक्रवार सूचना तथा संचार प्रविधि मन्त्रालयका योजना, अनुगमन तथा मूल्याङ्कन शाखाका उपसचिव रामकृष्ण अर्याल र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीबीच उक्त सम्झौता औपचारिक रूपमा सम्पन्न भएको हो।

स्टुडियो नेपाली फिल्म उद्योगलाई प्रविधिक रूपमा सशक्त बनाउन, फिल्म निर्माताहरुलाई एकीकृत स्थानमा सम्पूर्ण सेवा प्रदान गर्न र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्षम बनाउन लक्षित परियोजना हो।

यसमा अत्याधुनिक फिल्म छायांकन, ध्वनि रेकर्डिङ, सम्पादन, भिजुअल इफेक्ट्स, कलर ग्रेडिङ र पोस्ट–प्रोडक्सन सुविधाहरू रहनेछन्। बोर्डका अध्यक्ष दिनेश डीसीले भने, ‘काभ्रेको ऐतिहासिक सहर बनेपामा निर्माण भइरहेको स्टुडियो नेपाली फिल्म उद्योगका लागि नयाँ युगको सुरुवात हुनेछ। यो केवल स्टुडियो होइन, हाम्रो सिनेमा क्षेत्रको भविष्यमा लगानी हो।’

स्टुडियोको निर्माण सम्पन्न भएपछि नेपाली चलचित्रकर्मीहरूलाई विदेशमा गएर महँगो पोस्ट–प्रोडक्सन गर्नुपर्ने बाध्यता अन्त्य हुनेछ। साथै यसले फिल्म पर्यटन, रोजगारी र सीप विकासमा पनि उल्लेखनीय योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

सम्झौता कार्यक्रममा मन्त्रालयका कर्मचारी सहित चलचित्र विकास बोर्डका लेखा अधिकृत प्रभाकर भट्टराई र योजना अधिकृत गीरीश शर्माको उपस्थिति रहेको थियो ।