काठमाडौं । आगामी कात्तिक ६ गते भाइटीकाको अवसर पारेर रिलिज हुन लागेको फिल्म ‘वरिष्ठ बलराम’ चर्चामा छ । फिल्मको सार्वजनिक गीत ‘न्यौली बनैमा’ र ट्रेलरले दर्शकहरूको मन जित्न सफल भएका छन् । फिल्मको गीत ‘न्यौली बनैमा’ ले सामाजिक सञ्जाल र विशेषगरी टिकटकमा व्यापक लोकप्रियता बटुलिरहेको छ। सार्वजनिक भएको दुई हप्तामै यस गीतले युट्युबमा ५२ लाख ९६ हजारभन्दा बढी भ्युज प्राप्त गरिसकेको छ, जसले यसको लोकप्रियता स्पष्ट पार्छ ।
प्रशान्त शिवाकोटीको शब्दरचना र संगीत रहेको यस गीतमा प्रशान्त र शान्तीश्री परियारको सुमधुर स्वर रहेको छ । सार्वजनिक गीतमा एकअर्कालाई मन पराउने युगल जोडीको भूमिकामा विजय बराल र समृद्धि अर्याल छन् । गीतमा शंकाका बीचमा सँगै जीवन बिताउने सहमति गर्छन् । विशेषगरी, विजयको अभिनय कौशल र नृत्यले दर्शकबाट निकै प्रशंसा पाएको छ, जसले चलचित्रको समग्र पब्लिसिटीमा ठूलो सहयोग पुर्याएको छ । धेरै दर्शकहरूले गीत र नृत्य दुवैको खुलेर प्रशंसा गर्दै चलचित्रको सफलताको कामना गरेका छन् ।
गीतको सफलतासँगै चलचित्रको ट्रेलरले पनि दर्शकबाट उत्साहजनक प्रतिक्रिया प्राप्त गरेको छ । चार दिनअघि सार्वजनिक भएको ट्रेलरलाई पनि दर्शकले रुचाएका छन् । ट्रेलरले १३ लाख ९६ हजारभन्दा माथि भ्युज पाएको छ ।
दयाहाङको फरक गेटअपसँगै दयाहाङ र विजयको अभिनयको युट्युबमा ट्रेलर हेर्ने दर्शकले तारिफ गरिरहेका छन् । एकले अर्काको अस्तित्व स्वीकार गर्न नसकेर आफ्नो अधिपत्य खडा गर्न खोज्दा दयाहाङ र विजयबीच देखिएको टकराबलाई रुचाएको पाइएको छ । सुरेन्द्र पौडेल निर्देशक रहेको फिल्ममा दयाहाङ राई, विजय बराल, सम्वृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङल, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके) लगायत कलाकारको अभिनय छ ।





