कलाकार गोवद्धन असरानीको निधन

मुम्बई(एजेन्सी) । ब्लकबस्टर फिल्म ‘शोले’मा अंग्रेजको जमानाको जेलर भूमिका निभाउने कलाकार गोवद्धृन असरानीको सोमबार दिउँसो निधन भएको छ । उनी ८४ वर्षका थिए । उनलाई चार दिन अघि अस्पताल भर्ना गरिएको थियो । उनको फोक्सोमा पानी जमेको थियो । उनको मेनेजर बाबुभाई थिबाले उनको निधनको पुष्टि गरेका छन् ।

निधन अघि असरानीले आफ्नो निधनको खबर कसैलाई नदिनु भन्ने इच्छा राखेका थिए । उनले आफ्नो अन्तिम संस्कार पछि मात्र खबर सार्वजनिक गर्न भनेका थिए । जसकारण निधनको केही क्षणमै सान्ताक्रुजको शान्तिनगरस्थित घाटमा उनको अन्तिम संस्कार गरिएको थियो । जहाँ १५ देखि२० जना पारिवारिक सदस्यमात्र उपस्थित थिए ।

उनले आफ्नो करियरमा करिब ३ सय ५० फिल्ममा काम गरे । ‘शोले’, ‘अभिमान’, ‘चुपके–चुपके’, ‘छोटी सी बात’ र ‘भुलभुलैया’ जस्ता फिल्म उनका स्मरणीय फिल्ममा पर्छन् । फिल्म ‘शोले’मा असरानीले बोलेको संवाद ‘हम अंग्रेज के जमाना के जेलर हे’ निकै लोकप्रिय थियो ।