भाइरल गोर्खेको बतासैले उडाइ ल्यायो

काठमाडौँ । सौगात मल्ल र सृष्टि श्रेष्ठ स्टारर फिल्म ‘भाइरल गोर्खे’को गीत ‘बतासले उडाइ ल्यायो’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा त्रिशला गुरुङ र दीपक लिम्बुको स्वर, रोहित शाक्यको संगीत, कुशुम गजमेरको शब्द र श्याम पटेलको कोरियोग्राफी छ ।

यो रिमेक हो । यसको ओर्जिनल भर्सनमा कुमार कान्छा र आशा भोस्लेको स्वर छ । संगीत रञ्जित गजमेरको छ । यो ‘चिनो’ फिल्मको गीत हो । गीतको भिडियोमा सिनेमाका मुख्य कलाकारद्वय सौगात र सृष्टि छन् । प्रेममा रहेका उनीहरूको प्रेम सम्बन्ध र चञ्चलता देखाइएको छ । प्रेममा रहेको यो जोडी एकअर्काप्रति समर्पित रहेको देखाइएको छ । सुन्दर दृश्यको पृष्ठभूमिमा सौगात र सृष्टिको प्रेमलाई प्रस्तुत गरिएको छ ।

दुई दिनअघि यो फिल्मको नयाँ पोस्टर सार्वजनिक भएको थियो । ‘गोर्खे भाईरल’ माघ १ गते रिलिज हुनेछ । ‘भाईरल गोर्खे’ टिकटक, फेसबुक र युट्युबमा जसरी हुन्छ भाइरल हुने पछिल्लो ट्रेन्डलाई मुख्य कथा बनाएर बनेको फिल्म हो ।

रोगकै रूपमा विकास भइरहेको यो ट्रेन्डलाई समाएर बनेको सिनेमाले समसामयिक र जल्दोबल्लो विषय उठान गरेको छ । समसामयिक र घरघरको विषय भएकाले फिल्म दर्शकले मन पराउनेमा आफू ढुक्क रहेको निर्देशक निगम श्रेष्ठले बताएका छन् । कमेडी र ह्युमर पनि रहेकाले दर्शकका लागि सिनेमा पूर्ण प्याकेज भएको उनले बताए ।

एके ब्रदर कम्पनी, द जिएमआई एकेडेमी र निर्भाना फिल्म स्कुलको व्यानरमा निर्माण भएको फिल्ममा सौगात र सृष्टिसँगै बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, ऋषि धमलाको अभिनय रहेको छ ।

अमित श्रेष्ठ, विशाल ताम्राकार, महेश लामिछाने र केवल जंग कुँवर निर्माता रहेको सिनेमा सह (निर्माता शुभेच्छा पौडेल,भुवन अधिकारी र निखिल पौडेल हुन् ।कार्यकारी निर्मातामा निर्भाना फिल्म स्कुलक र केदार श्रेष्ठ रहेका छन ।

अमर महर्जनको सिनेमाटोग्राफी रहेको सिनेमालाई लम्जुङको भुजुङ गाउँ, गोरखा र चितवनमा खिचिएको हो । ‘भाइरल गोर्खे’को वितरक सुनिल मानन्धर,द्वन्द निर्देशक श्री श्रेष्ठ,एडिटर बन्देप्रसाद, रवि चौधरी, भीम विश्वकर्मा हुन् ।