वरिष्ठ बलराम हेरेपछि दर्शक–माटो सुहाउँदो कथा

काठमाडौं । तिहारको भाइटीकाको अवसर पारेर बिहीबारबाट रिलिज भएको फिल्म ‘वरिष्ठ बलराम’ हेरेपछि दर्शकले फिल्मको तारिफ गरेका छन् । दयाहाङ राई र विजय बराल स्टारर फिल्म देशभरका हलमा एकसाथ प्रदर्शन भइरहेको छ ।

दयाहाङ र विजयको घम्साघम्सी रहेको फिल्म हेर्न बिहीबार र शुक्रबार बिहानैदेखि उल्लेख्य संख्यामा दर्शक हलमा देखिएका छन् । दर्शकले माटो सुहाउँदो कथा भनेका छन् । प्राकृतिक स्रोतको दोहनको कथा यो फिल्मले उठान गरेको छ ।

फिल्म सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् । वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसको सहकार्य रहेको फिल्ममा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके)लगायतको अभिनय छ ।

निर्देशक पौडेलकै कथा र सम्पादन रहेको फिल्मको पटकथा महेश दवाडीले लेखेका छन् । आशिष एच तामाङ र श्रीराज कार्की निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता प्रदीप जी धामी र पुस्कर बी घिमिरे हुन् । लाइन प्रोडुसरमा राम विष्ट छन् ।