मन बिनाको धन टिजरमा भावुक अशोक

काठमाडौँ । भाइटिकाको दिनमा अशोक दर्जीको मुख्य भूमिका रहेको फिल्म ‘मन बिनाको धन’ को टिजर सार्वजनिक गरिएको छ । टिजरमा रुदै गरेको अशोकलाई देखन् सकिन्छ भने शिव परियार र प्रमोद खरेलको स्वर रहेको शिर्ष गीतको केहि अंश प्रस्तुत गरिएको छ । फिल्मको ट्रेलर १२ गते बुधबार सार्वजनिक गर्ने समेत जानकारी दिएको छ।

कार्तिक २१ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मको यति बेला देशैभरिबाट आक्रामक प्रचारप्रसार सुरु गरेको छ। बाटोमा गीत गाउदै माग्दै हिँड्ने अशोक दर्जीलाई टंक बुढाथोकीले आफुसँग राखेर ‘मन बिनाको धन ठुलो कि धन बिनाको मन’ मार्फत उनको जीवन नै परिवर्तन गरिदिएका छन । अशोक हाल काठमाडौंमा कक्षा ९ मा अध्ययनरत छन् । अशोकको पेरिफेरीमा रहेर निर्माण गरिएको यस फिल्ममा सामाजिक विषयवस्तुमा प्रस्तुत गरिएको छ ।

टंक बुढाथोकीको निर्माण तथा निर्देशन रहेको फिल्म टंक आफैले लेखेका हुन् भने पटकथा र संवाद शिवम अधिकारीले लेखेका हुन् । फिल्ममा अशोकसँगै सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा, बुद्दि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा, पार्वती अधिकारी, उत्सव सापकोटा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत, एआर बुढाथोकी, बाबु पराजुली, रक्षा श्रेष्ठ, प्रियंका झा, विनय अधिकारी, आर्यन पोखरेल, विजय डंगोल लगायतका कलाकारको अभिनय रहेको छ ।