काठमाडौं । तिहारको भाइटीकाको अवसर पारेर हिजोबाट प्रदर्शनमा आएको फिल्म ‘वरिष्ठ बलराम’ ले देशभरका सिनेमा हलमा उत्साहजनक अकुपेन्सी हासिल गरेको छ । दयाहाङ राई र विजय बराल स्टारर यो फिल्मले पहिलो दिनदेखि नै दर्शकको उल्लेख्य साथ पाएको निर्माणपक्षले जनाएको छ ।
निर्माताका अनुसार फिल्मले रिलिजको पहिलो दिन ७० देखि ८० प्रतिशतसम्म अकुपेन्सी हासिल गरेको छ भने राजधानीदेखि बाहिरी सहरका सिनेमा हलहरूमा समेत दर्शकको भीड देखिएको छ । आजको अकुपेन्सी राम्रो भएपछि केही हलहरुले शोमा समेत थप गरेका छन् ।
निर्माता आशिष एच तामाङका अनुसार फिल्मका अधिकांश शो हाउसफूल रहेका छन् । उनले भने, ‘पहिलो दिन बिहानैदेखि धेरै शोहरू हाउसफूल भएका थिए । आज दोस्रो दिन पनि सिनेमा हलमा दर्शकको उपस्थिती उच्च छ । फिल्म हेर्ने अधिकांशले राम्रो प्रतिक्रिया दिएका छन् र वर्ड अफ माउथ निकै सकारात्मक छ ।’
दयाहाङ र विजयको स्क्रिन केमिस्ट्री, संवाद र कथा प्रस्तुतिलाई दर्शकले मन पराइरहेका छन् । दोस्रो दिन शुक्रबार पनि बिहानैदेखि टिकट काउन्टरमा दर्शकको चहलपहल देखिएको छ ।
सुरेन्द्र पौडेल निर्देशित फिल्ममा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके) लगायत कलाकारहरूको अभिनय छ ।






