प्रचारले किन्यो जेरी अन टपको क्यानडा अधिकार

काठमाडौं । विदेशमा नेपाली फिल्म प्रदर्शन र विभिन्न इभेन्ट आयोजना गर्दै आएको प्रचारले नेपालमा प्रदर्शन भइरहेको फिल्म ‘जेरी अन टप’को क्यानडा वितरणको अधिकार किनेको छ । प्रचार नेपाल प्रालिका संचालक आशिष पुरी र फिल्मका निर्माता विवेक थापाले शुक्रबार सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । दर्शकको मागबमोजिम क्यानडामा उक्त फिल्मको वितरण अधिकार किनिएको प्रचारका संचालक पुरीले बताए । उनले क्यानडामा बुकिङ खुला भइसकेको जानकारी दिए ।

प्रचारले यसअघि क्यानडामा ‘पूर्णबहादुरको सारंगी’, ‘तेल भिसा’, ‘छक्का पञ्जा ५’ र ‘ह्रस्व दीर्घ’जस्ता फिल्महरु प्रदर्शन गरिसकेको छ । उसले विभिन्न म्यूजिकल इभेन्ट पनि गर्दै आएको छ । प्रचारका साजनजंग पाण्डेले नोभेम्बर १ बाट क्यानडाका मुख्यमुख्य शहरमा ‘जेरी अन टप’ प्रदर्शन हुने बताए । उनले फिल्मका लागि टिकट खुला भइसकेको उल्लेख गरे ।

अनमोल केसी, जसिता गुरूङ र आँचल शर्मा अभिनित यो फिल्म गत असोज ३१ गतेदेखि नेपाली हलहरु चलिरहेको छ । दोस्रो सातामा पनि फिल्मको हाउस फुल भइरहेको निर्माता थापाले बताए । फिल्मले हालसम्म ६ करोड बढी आम्दानी गरिसकेको फिल्मको प्रस्तुतकर्ता सरोज न्यौपाने जानकारी दिए । ७५ हजार दर्शकले फिल्म हेरिसकेको उनको भनाइ छ । यो फिल्म अमेरिका, अष्टे«लिया, माल्टामा पनि प्रदर्शन भइरहेको निर्माता थापाले उल्लेख गरे ।

सुयोग गुरूङको निर्देशनमा बनेको यो फिल्ममा सगरमाथा आरोहण र यात्राको क्रममा हुने प्रेमकथालाई मुख्य विषय बनाइएको छ । भुवन केसी, केदार घिमिरे, उषा खड्गी, सुरक्षा पन्तसहितका कलाकारहरूको अभिनय पनि यस फिल्ममा देख्न सकिन्छ ।