काठमाडौं । फिल्म ‘वरिष्ठ बलराम’को टिम मोफसल पुगेको छ । दर्शक भेट्न कलाकारसहितको टिम मोफसल पुगेको हो । काठमाडौंका दर्शकसँगको साक्षात्कारपछि फिल्मका कलाकार विजय बराल, समृद्धि अर्याल र निर्देशक सुरेन्द्र पौडेल मोफसलका दर्शक भेट्न निस्किएको हो ।
शुक्रबारदेखि ‘वरिष्ठ बलराम’को टिम पश्चिम नेपालका विभिन्न हलमा पुगेको छ । हलमा पुगेर दर्शकको प्रतिक्रिया लिइरहेको छ । ‘दर्शकले उत्साहजनक प्रतिक्रिया दिइरहनु भएको छ । हेर्ने अधिकांश दर्शकले नेपाली मौलिक कथासहितको फिल्म भन्दै हेर्नैपर्ने फिल्म भन्नु भएको छ,’ निर्देशक पौडेलले भने ।
निर्देशक पौडेलले धेरै शो हाउसफूल भएका र हाउसफूल नभएका शोमा पनि ७० प्रतिशतभन्दा माथि अकुपेन्सी रहेको जानकारी दिए । तिहारको भाइटीकाको अवसर पारेर प्रदर्शनमा आएको फिल्मले देशभरका सिनेमा हलमा उत्साहजनक अकुपेन्सीमा प्रदर्शन भइरहेको छ ।
फिल्ममा सुरेन्द्र पौडेलको निर्देशन छ । वृषभ सिद्धी इन्टरटेनमेन्ट को प्रस्तुतिमा आन्भी फिल्म्सको सहकार्यमा बनेको यो फिल्ममा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके) लगायत कलाकारहरूको अभिनय छ ।






