कात्तिक २१ मा अन्जना गुरुङ एकल सांगीतिक कार्यक्रम

काठमाडौं । दुई दशकभन्दा बढी समयदेखि गायनमा सक्रिय गायिका अन्जना गुरुङले यही कात्तिक २१ गते काठमाडौंमा एकल सांगीतिक कार्यक्रम गर्ने भएकी छन् । टिका गोपाल एम क्रियशनले गायिका गुरुङको एकल सांगीतिक कार्यक्रम आयोजना गर्न लागेको हो ।

क्रिएसनका अध्यक्ष गीत सिंहले कार्यक्रममा अञ्जनाले ‘आँखैमा राख्छु मेरो देश’, ‘म त काली सुन्दरी’, ‘बदनाम भए म तिम्रै कारणले’, ‘आँधी सारी तिम्रो माया’, ‘ठ्याक्कै भेटौंला’, ‘नजर नजरको’, ‘जसले मुटु चुडेर लग्यो’, ‘माईला रोधी घरमा (कौडा)’, ‘मान चाहे नमान तिमी मेरो हौ’लगायतका गीत सुनाउने बताइन् ।

कार्यक्रममा गायिका गुरुङको संरक्षकत्व तथा गायन जोडी कन्हैया सिंह परियार र अन्ञ्जना गुरुङद्वारा स्थापना गरिएको ‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार– २०८२’ प्रदान गरिने छ । ५१ हजारको पुरस्कार राशी रहेको उक्त पुरस्कार यसवर्ष गायक कमल बिक ‘निर्मोही’ लाई प्रदान गरिने भएको छ ।

गायक विक मध्यपश्चिम तथा सुदूरपश्चिम क्षेत्रका मौलिक भाकाका गीतहरुलाई नेपाली श्रोता तथा दर्शक माझ प्रस्तुत गर्दै आईरहेका छन् । उनी पछिल्लो समय मृगौला रोगबाट समेत पीडित छन् ।

यस अघि पुरस्कारबाट गायिका चन्द्रकला शाह (२०७८), गीतकार विश्व बल्लभ (२०७९), बाध्यबादक कृष्ण गन्धर्ब (२०८०) र लोकगायक रेशम थापा (२०८१) सम्मानित एवम् पुरस्कृत भइसकेका छन् ।