काठमाडौँ । फ्लाइ नेपा ट्राभल्सको आयोजनामा अमेरिकाका विभिन्न सहरमा भएको सांगीतिक कार्यक्रम ‘अब सुन्छ अमेरिका’ टुंगिएको छ । सन् २०२५ का अगस्ट, सेप्टेम्बर र अक्टोबर महिनामा अमेरिकाका न्युयोर्क, डालस, टेक्सस, अस्टिन, नियाग्राफल्स, बोस्टन, न्यू ह्याम्पसायर, बाल्टिमोर, सिनसिनाटी ओहायो, शिकागो, एक्रोन ओहायो, कोलम्बस ओहायो, कोलोराडो, सन फ्रान्सिसको पछि कार्यक्रम टुंगिएको हो । यो कार्यक्रममा गायकद्वय बद्री पंगेनी र प्रतापदास तथा गायिका एलिना चौहानले दर्शकलाई गीत सुनाएका थिए ।
कार्यक्रम संयोजक तथा परिकल्पनाकार विनोद अधिकारीका अनुसार कार्यक्रम भएका ठाउँमा दर्शकहरूको बाक्लो उपस्थिति देखिएको थियो । तीज नलाग्दै अमेरिका पुगेका गायकगायिकाले ३ महिनामा तीज हुँदै दसैँ तिहारसम्मका चाडमा दर्शकलाई मनोरञ्जन दिलाएका थिए ।
‘गर्मी मौसम सकिँदो र चिसो मौसम सुरु हुने अत्यन्त अनुकूल मौसम भएका महिनामा अमेरिकाको पूर्वदेखि पश्चिममा रहेका नेपालीहरूसम्म हामी पुगेका थियौँ । यो क्रममा हजारौँ माइलको फराकिलो दुरीको यात्रा पार गर्यौँ,’ उनले भने, ‘समग्रमा कार्यक्रम परिकल्पना गरेजस्तै सफल रूपमा सम्पन्न भएको छ । आफूले कलाकारसँग गरेको सर्त तथा वाचा बमोजिमको सम्पूर्ण जिम्मेवारी पूरा गरेको छु ।’ उनले आगामी दिनमा पनि यसैगरी नेपाल र नेपालीलाई जोड्ने कार्यक्रमका लागि मन, वचन र कर्मले लागिपर्ने बताए ।






