काठमाडौं। वैज्ञानिक कल्पनामा आधारित नेपाली फिल्म ‘एक्लो’ को टिजर सार्वजनिक गरिएको छ। ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक एक मिनेट पांच सेकेन्ड लामो टिजरले फिल्म गजब बनेको छनक देखाएको छ । रेगुलर बनि रहेको नेपाली फिल्म भन्दा फरक कथामा निर्माण गरिएको फिल्म नेपाली दर्शकलाई छुट्टै मजा दिनेमा निर्माण टिम ढुक्क देखिएको छ। फिल्म आगामी अंग्रेजी नयाँ बर्षको अवसर पारेर पुष १७ गते (जनवरी १) मा प्रदर्शन हुनेछ।
फिल्मले यसअघि विश्वविख्यात कान्स फिल्म फेस्टिभलमा स्टलमार्फत आफ्नो अन्तर्राष्ट्रिय उपस्थितिको पहिचान बनाइसकेको छ। कान्सपछि यस फिल्मको चर्चा उल्लेखनीय रूपमा बढेको छ ।
फिल्मका निर्देशक प्रदीप शाही हुन्, जसले यसअघि दुई फिल्म निर्देशन गरिसकेका छन्। बेलायतमा लामो समयदेखि बसोबास गर्दै आएका शाहीले ‘एक्लो’ लाई हलिउडस्तरको प्रविधि र प्रस्तुतिसहित निर्माण गरिरहेका छन्। शाहीको निर्देशनमा बनेका यस अघिका दुई फिल्म ‘गोर्खा ब्रिनिथ द ब्रेभरी’ र ‘अन्तीम संस्कार’ एमजोन प्राइममा रिलिज भई सकेका छन्।
फिल्ममा प्रदीप खड्का, विजय लामा, सुनील थापा, दिया पुन, बेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, सुरजसिंह ठकुरी, एवन राज उप्रेती, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, दिग्गज खत्री, विनोद सुवेदी ‘क्षितिज’, श्रीशेष श्रेष्ठ लगायत बाल कलाकार जेमिन श्रेष्ठ र स्योन सविक सिंह, तथा बेलायती अभिनेता जेमी बेकनको अभिनय छ ।
एनआरएन समुहको लगानी रहेको फिल्मका कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ हुन्। फिल्ममा अभिनेता प्रदीप खड्काले पनि लगानी गरेका छन्।फिल्मको छायांकन बाबु श्रेष्ठले गरेका हुन्। द्वन्द्व निर्देशनमा राजु तामाङ, सेट डिजाइमा राजु पेन्टर, कला निर्देशनमा सन्तोष लामा, र प्रोडक्सन डिजाइमा द्रोण प्रसाद पौडेल ‘ठेउके’ संलग्न छन्। फिल्मको वितरण एप्पल इन्टरटेन्टमेन्ट, एफडी कम्पनी र रिच इन्टरटेन्टमेन्टले गर्दैछ।






