काठमाडौँ । नेपाल चलचित्र कलाकार संघले वर्तमान कार्यसमितिमा रिक्त रहेको विभिन्न पदमा पदाधिकारीहरुको मनोनित गरेको छ । गत कात्तिक २ गते बसेको बैठकले सङ्घको बिधान परिच्छेद ८ को दफा २६ को उपदफा (ग) र सोही परिच्छेद ८ को दफा २६ को उपदफा (ध) बमोजिम पदाधिकारीहरुको मनोनित गरिएको हो।
कार्तिक १३ गते विहिबार राजधानीमा एक समारोहको आयोजना गरी वर्तमान कार्यसमितिमा रिक्त रहेका पदमा उपाध्यक्ष दुईजना र सदस्य दुईजना गरी चारजना पदाधिकारीहरुलाई सपथग्रहण गराएको छ । सङ्घको बिधान बमोजिम २जना उपाध्यक्षमा क्रमशः जयन्त रेग्मी र राजकुमार शाहलाई मनोनय गरेको थियो । त्यसैगरी सदस्यहरुमा क्रमशः जीवन थापा र श्रीदेव भट्टराईलाई मनोनित गरिएको छ । चारैजना पदाधिकारीहरुलाई सङ्घका अध्यक्ष मोहन निरौलाले सपथ ग्रहण समेत गराएका थिए ।
सोही समारोहमा आगामी नोभेम्बर ९ देखि १६ सम्म बेलायतमा सम्पन्न हुन गईरहेको इन्टरनेसनल फेडेरेसन अफ एक्टर्सको अन्तर्राष्ट्रिय अधिवेशनमा नेपालको प्रतिनिधित्व गर्दै सहभागिता जनाउन जान लागेका सङ्घका कोषाध्यक्ष सुनिल कटुवाललाई पनि अबिर र खादा लगाएर बधाई तथा शुभकामना व्यक्त गरिएको थियो । उक्त सम्मेलनमा ६० मुलुकका फिल्मकर्मीहरु सम्बद्ध सङ्घ संस्थाका ४५० भन्दा बढी प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहने कुरा अध्यक्ष निरौलाले बताए ।
समारोहमा सङ्घका अध्यक्ष मोहन निरौलाले सदस्यता वितरण र नवीकरणमा विधान अनुसारको मापदण्ड प्रमाणीकरणलाई कडाईका साथ लागु गरिएको साथै लेखा प्रणालीलाई पारदर्शी र थप व्यवस्थित गरिएको कुरा जानकारी गराउँदै सङ्घले गरेका अन्य कार्यहरुको बारेमा समेत प्रकाश पारे ।






