फिल्म संग्राहलयलाई रेड एम एक्स क्यामरा हस्तान्तरण

काठमाडौं । चलचित्र विकास बोर्डले निर्माण गर्न लागेको फिल्म संग्राहलयका लागि अत्याधुनिक रेड एम एक्स क्यामेरा प्रदान गरिएको छ। नेपाली फिल्म क्षेत्रमै पहिलो पटक फिल्म सम्पदालाई व्यवस्थित रूपमा संग्रह गर्ने लक्ष्यका साथ बोर्डले फिल्म संग्राहलयको तयारी तीव्र पारेको छ।

१६ वर्षदेखि नेपाली फिल्म क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएका सिनेमाटोग्राफर पुरुषोत्तम प्रधानको नेतृत्वमा सिनेफोकस प्रोडक्सन हाउसका सञ्चालक रजत बुढाथोकीले उक्त क्यामेरा हस्तान्तरण गरेका हुन्। क्यामेरा बोर्डका अध्यक्ष दिनेश डिसीले ग्रहण गरेका छन्।

उपकरण ग्रहण गर्दै अध्यक्ष डिसीले फिल्म क्षेत्रको ऐतिहासिक यात्रालाई संग्रह र सम्मान गर्ने अभियानमा यो सहयोग महत्वपूर्ण थपिएको बताए । ‘फिल्मको इतिहास, प्रविधि र योगदानको संरक्षण केवल कागजमा होइन, दस्तावेज र उपकरणमार्फत प्रमाणित गर्ने समय आएको छ,’ उनले भने।

संग्राहलयमार्फत नेपाली फिल्मका पुराना क्यामेरा, उत्पादन उपकरण, फिल्म पोस्टर, संगीत सामग्री, पटकथा, पुरस्कार–सम्मान लगायतका ऐतिहासिक सम्पदा संरक्षित गरिने बोर्डले जनाएको छ। यो क्यामेरा बाट नेपाली फिल्म ‘मायाज बार’, ‘छ एकान छ’, ‘अझै पनि’ लगाएतका फिल्महरु छायांकन गरिएको थियो ।

क्यामेरा प्रदान गरेका बुढाथोकीले नेपाली फिल्मको इतिहास जोगाउन र नयाँ पुस्तालाई प्रेरणा दिन सहयोग गरेकोमा सन्तुष्ट भएको बताए। दाङबाट राजधानीमा फिल्म व्यवसाय गर्न आएका उनको कम्पनीले हाल चलचित्र निर्माणको लागि भाडामा उपकरण तथा पोष्ट प्रोडक्सनको व्यवस्थापन गर्दै आएको छ । सिनेफोकस अत्याधुनीक लाईट तथा उपकरणमा अब्बल मानिन्छ ।