काठमाडौं । बालमनोविज्ञानमा आधारित नेपाली फिल्म ‘रोल नं. १’ को लागि निर्माणपक्षले बाल कलाकारको अडिसन आह्वान गरेको छ । सेभेन सिज सिनेमाको प्रस्तुति रहने यो फिल्मका लागि निर्माण समूहले सामाजिक सञ्जालमार्फत विज्ञापन जारी गर्दै ७ देखि १२ वर्ष उमेर समूहका प्रतिभाशाली बालबालिकाहरूको खोजी गरिरहेको जनाएको छ ।
गत वर्ष नै यो फिल्मको घोषणा गरिएको थियो । साथै, फर्स्टलुक पोस्टर पनि सार्वजनिक गरिएको थियो, जसमा कक्षाकोठाको लास्ट बेन्चमा बसेको एक बालकले हात उठाएर आफ्नो उपस्थितिको संकेत गरेको दृश्य देख्न सकिन्छ ।
निर्माणपक्षका अनुसार ७ देखि ८ वर्षका ३ जना केटा बाल कलाकार, ६ देखि ७ वर्षकी १ जना केटी बाल कलाकार र ११ देखि १२ वर्षका २ जना केटा बाल कलाकार आवश्यक छन् ।
बाल कलाकारहरूको रङ गहुगोरो र उचाइ २.५ देखि ३ फिटसम्म हुनुपर्ने जनाइएको छ । इच्छुक बालबालिकाले सानो भिडियो क्लिप तयार गरी इमेल audition4rollno1@gmail.com वा ह्वाट्सएप नम्बर ९८६५११९३११ मा पठाउन सक्नेछन् ।
निर्माणपक्षले प्राप्त भिडियोहरूबाट शोर्टलिस्ट भएका व्यक्तिहरूलाई फाइनल अडिसनका लागि सम्पर्क गर्ने बताएको छ । फिल्मको कथा विद्यार्थीहरूमा देखिने सामाजिक दबाब, झूटो प्रतिष्ठा र ‘जित्नैपर्ने’ मानसिकताको प्रभाव वरिपरि केन्द्रित रहेको संकेत गरिएको छ ।
निर्माता विनोद पौडेलले केही समयअघि सामाजिक सञ्जालमा लेखेका थिए, ‘सबैलाई नजिते, इज्जतै पाउँदैन रे । गन्तीमै आउँदैन रे। अरु सबै मुर्ख अरे एउटै विद्वान, रोल न. वान‘ रोल न. वान‘ रोल न. वान ।’
फिल्ममा जोन योञ्जनको कथा तथा निर्देशन, महेश दवाडीको पटकथा र संवाद, र प्रशान्त शिवाकोटीको संगीत रहनेछ । सेभेन सिज सिनेमाको प्रस्तुति रहेको अर्को फिल्म ‘अभिमन्यु स् च्याप्टर–१’ प्रदर्शनको तयारीमा छ ।






