उत्कृष्ठ प्रतिक्रियासहित शो बढाउँदै परान

काठमाडौं। गत शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आएको फिलम ‘परान’ले उत्कृष्ट प्रतिक्रियासहित शो संख्या पनि बढाएको छ । भावनात्मक पारिवारिक कथा पेश गर्ने फिल्म हेरेर दर्शकहरू भक्कानिएको भिडियो सामाजिक सञ्जालमा छ्याछ्यासी भइरहेका छन् भने हेर्ने जत्तिले मुक्तकण्ठले प्रशंसा गरिरहेका छन् ।

‘सक्किगोनी’मा ‘काकु’ नामको पात्रमार्फत चिनिएका दीपक प्रसाद आचार्यको डेब्यू निर्देशन रहेको फिल्मले आफ्नो कथावस्तु, सोमाथिको अभिनय र प्रस्तुतिको दर्शकहरूले तारिफ बटुलिरहेका छन् ।

प्रतिक्रिया जनाउने क्रममा डेब्यू निर्देशनमै उत्कृष्ट काम देखिएको दर्शकहरूको भनाइ छ । यस्तै, केन्द्रीय भूमिकामा रहेका नीर शाहको कामलाई पनि उत्तिकै मनपराइएको छ । अन्य कलाकारहरूले पनि आफ्नो कामका लागि प्रशंसा बटुलेका छन् ।

परिवार, माया र सम्बन्धका यथार्थ दृश्यहरूले मानिसको मन छोइरहेका कारण ‘परान’ लाई देशभर उत्कृष्ट ‘वर्ड अफ माउथ’ प्राप्त भइरहेको छ । रिलिजको अघिल्लो दिन भएको प्रिमियरमा पनि थुप्रै सेलिब्रेटी, राष्ट्रिय व्यवसायीहरूका साथमा पत्रकार तथा सम्पादकहरूले फिल्मलाई नेपाली माटो, समाज र हरेक नेपाली घरको भावना समेटेको फिल्मको रूपमा प्रशंसा गरेका थिए ।

व्यवसायिक घराना गोल्छा समूहका शेखर गोल्छाको प्रिज्मा एडभर्टाइजिङका प्रमुख रञ्जित आचार्यसँगको सहस्वामित्वमा रहेको बाइस्कोप सिनेमाजको ब्यानरमा निर्माण भएको फिल्मले डेब्यू निर्माणमै उत्कृष्ट फिल्म ल्याएको भनेर यतिखेर नेपाली रजतपटमा व्यापक रूपमा चर्चा भइरहेको छ ।

बितेका दिनमा वर्षाका कारण दर्शकको फुटफलमा केही कमी देखिएको भए पनि आजबाट फिल्मले पिकअप लिएकोले निर्माण पक्षसमेत हौसिएको छ । यस्तै, हल संख्या समेत बढेको निर्माण पक्षले जनाएको छ । फिल्ममा नीर शाह, पूजा चन्द, मदनकृष्ठ श्रेष्ठ, केकी अधिकारी, अञ्जना बराइली, प्रविण खतिवडा, महेश त्रिपाठी, बुद्धि तामाङ आदिको प्रमुख भूमिका रहेको छ ।