काठमाडौँ । गत कार्तिक १४ गते रिलिज हुँदा केवल ६४ शो पाएको फिल्म ‘परान’ले बलियो वर्ड अफ माउथ पाउँदा आज बुधबार सर्वाधिक शो संख्या आफ्नो पक्षमा पारेको छ ।
पहिलो दुई दिन उत्साहजनक व्यापर गर्न नसकेको ‘परान’ले रिलिजको छैटौं दिन आउँदा हाल नेपाली फिल्म हलहरुमा प्रदर्शनरतः नेपाली तथा विदेशी सिनेमाहरुलाई पछाडि पार्दै सर्वाधिक शो पाउन सफल भएको छ । फिल्मले देशभर कुल १ सय ३२ शो पाएको छ । उसलाई दोश्रो स्थानमा अनमोल केसीको ‘जेरी अन टप’ले १ सय १९ शो प्राप्त गरेको छ ।
हाल नेपाली हलहरुमा ‘परान’ सहित ‘जेरी अन टप’, वरिष्ठ बलराम, मैझारो गरी कुल ४ वटा नेपाली फिल्म प्रदर्शनरत छन् । ‘मैझारो’ फिल्मले ४ शोमा सीमित भएको अवस्था छ भने ‘वरिष्ठ बलराम’ले २१ वटा शो पाएको तथ्यांक छ ।
दिपक प्रसाद आचार्यको डेब्यू निर्देशन रहेको सिनेमालाई गोल्छा समूहका शेखर गोल्छा तथा प्रिज्मा एडभटाइजिङका रंजित आचार्यको सहस्वामित्वको कम्पनी बाइस्कोट सिनेमाले निर्माण गरेको हो ।






