पूर्वी नेपालका दर्शकमाझ जारी २ टिम

काठमाडौं । गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘जारी २ः सङ अफ च्याब्रुङ’ले बक्सअफिसमा राम्रो व्यापार गरिरहेको छ । देशभरी नै रामो व्यापार गरिरहेको फिल्मले पूर्वी नेपालका हलमा आक्रामक व्यार गरेको हो ।

लिम्बु समुदायको कथामा आधारित फिल्मले बक्सअफिसमा राम्रो व्यापार गरिहँदा यो सिनेमा निर्देशक उपेन्द्र सुब्बा र अभिनेत्री मिरुना मगर दर्शक साक्षात्कार गर्न पूर्वी नेपाल पुगेका छन् । गत सोमबार झापाको दमक र बिर्तामोडमा दर्शक सक्षात्कार गरेको टिमले मंगलबार सुनसरीको धरान र इटहरीका विभिन्न हलमा पुगेर दर्शक साक्षात्कार गरेको थियो ।

फिल्मको मंगलबारबाट १४ मिनेट लामो दृश्य थपेर ‘डिरेक्टर्स कट’ भर्सन प्रदर्शनमा ल्याइएको छ । फिल्मकी मुख्य अभिनेत्री मिरुना मगरले दर्शकमा प्रदर्शनमा आएको नयाँ भर्सनले दर्शकमा थप उत्साह पैदा गरेको बताइन् । उपेन्द्र सुब्बा लिखित तथा निर्देशित फिल्म रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले निर्माण गरेका हुन् ।

फिल्ममा दयाहाङ राई, मिरुना मगर, विजय बराल, बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको पनि अभिनय छ ।