काठमाडौं । गत शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘मन बिनको धन’ को गीत सार्वजनिक गरिएको छ । फिल्ममा समाबेश ‘बा आमा’ बोलको गीत सार्वजनिक गरिएको हो । अशोक दर्जी र एआर बुढाथोकीको स्वर रहेको गीतमा टंक बुढाथोकी संगीत तथा एरेन्ज र शंकर आचार्यको शब्द रहेको छ ।
देशैभरिका हलमा प्रदर्शन भईरहेको ‘मन बिनको धन’लाई दर्शकले मन पराएका छन् ।फिल्म प्रदर्शनको पहिलो दिनदेखि नै जेनजी पुस्तादेखि ज्येष्ठ नागरिकसम्म हलमा देखिएका छन् । हल भिजिटमा पुगेका कलाकार अशोक दर्जीको वास्तविक जीवनको कथावस्तुमा आधारित फिल्मले दर्शकको मन जितेको देखिन्छ ।
दर्शकले दर्जीलाई अँगालो हालेर रोएका भिडियो पनि सामाजिक सञ्जालमा भाइरल छन् । फिल्म हेर्न स्कुले विद्यार्थीदेखि उनीहरूका बुबाआमा पनि हलबाट रुँदै निस्केको देख्न सकिन्छ ।
फिल्मका कलाकारहरु राजधानी र राजधानी बाहिर दर्शकको प्रतिक्रिया लिन हरेक दिन हल हलमा पुगेका छन् ।पहिलो दिनमा ९५ शो पाएको फिल्मले अहिले सवा सयको हाराहारीमा सो पाएको छ । हरेक सोमा दर्शकको हाउसफुल उपस्थिति रहेको छ ।
फिल्ममा अशोक दर्जी ,सरोज खनाल,सन्तोष पन्त,रमा थपलिया, नीता ढुंगाना, रमेश विश्वकर्मा, भोला सापकोटा,बुद्दि तामाङ, रवीन्द्र झा,शंकर श्रेष्ठ, साम्राज्ञी थापा,बिना राउत, ए।आर बुढाथोकी,बाबु पराजुली लगायतका कलाकारको अभिनय रहेको छ।






