चितवनका स्कुल र कलेजमा हर्षको प्रचार

काठमाडौँ । आगामी १२ मंसिरबाट देशव्यापी प्रदर्शनमा आउने फिल्म ‘हर्ष’ले चितवनका स्कुल र कलेजमा फिल्मको प्रचारप्रसार गरेको छ । चितवन फिल्मकी निर्देशक एकता पौडेलको गृहनगरसमेत हो ।

फिल्मकी निर्देशक पौडेल, कलाकारहरु वर्षा राउत, सन्तोष पन्त, साइमन वादी र कोरियोग्राफर सुनील क्षेत्री ग्लोरियस एकेडेमी स्कुल पुगेर विद्यार्थीलाई फिल्मको बारेमा जानकारी दिएका थिए । विद्यार्थीसँगको भेटघाट पछि फिल्म युनिटले स्थानीय पत्रकारहरुसँग अन्तरक्रियासमेत गरेको थियो ।

कार्यक्रममा निर्देशक पौडेलले आफू चितवनको चेली भएकाले फिल्मले चितवनवासीको माया पाउने बताइन् । ‘मैले धेरै मेहनत गरेर फिल्म निर्माण गरेकाले सबैको साथ र सहयोग पाउने अपेक्षा छ’, उनले भनिन् । फिल्मकी अभिनेत्री वर्षाले फिल्म पारिवारिक भएकाले सवैले मन पराउने बताइन् । कलाकार पन्तले एउटा महिला निर्देशकले मेहनत गरेर सुन्दर फिल्म निर्माण गरेकाले सवैले हेरेर साथ दिन आग्रह गरे ।

निर्देशक एकता दिवंगत निर्देशक शिव रेग्मीकी भान्जी हुन् । न्यूयोर्क फिल्म एकेडेमीमा फिल्म मेकिङ अध्ययन तथा आमसंचारमा स्नातक र व्यवस्थापन तथा नेतृत्व विषयमा स्नातकोत्तर गरेकी निर्देशक पौडेलले यसअघि केही छोटा फिल्मसमेत निर्माण गरेकी छन् ।

फिल्ममा खगेन्द्र लामिछाने, वर्षा राउत, नीर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जन, सिर्जना नापित र बालकलाकार साइमन वादीको अभिनय छ ।

फिल्ममा आलोक शुक्लाको छयांकन, समीर र हिमाल, वसन्त सापकोटा तथा एलिश कार्काको संगीत, लोकेश बज्राचार्यको सम्पादन तथा सुनिल क्षेत्री र निर्देशक पौडेलको कोरियोग्राफी छ ।

अष्टलक्ष्मी प्रोडक्सन र ई–प्राईम मुभिजको ब्यानरमा निर्माण भएको फिल्मको कथा स्वयं निर्देशक पौडेलको हो । प्रशन्न पौडेल र विकास पौडेल निर्माता तथा हिक्मत चोखाल कार्यकारी निर्माता रहेको फिल्मका प्रोडक्सन म्यानेजर इश्वर घिमिरे, मुख्य सहायक निर्देशक कुलदीप शर्मा हुन् ।