काठमाडौं । सनराइज पिक्चर्स प्रालीको ब्यानरमा निर्माण हुने फिल्म ‘बाटुलो जून’को छायांकन सुरु भएको छ । पाटनस्थित बगलामुखी मन्दिरमा शुक्रबार क्यामेरा र स्कृप्ट पूजा गर्दै निर्माण युनिट फ्लोरमा निस्केको हो ।
पछिल्लो फिल्म ‘ड्रिम्स’रिलिजको झण्डै १० वर्षपछि अभिनेता तथा निर्देशक भुवन केसी यो फिल्मबाट निर्देशनमा पुनरागमन गर्दैछन् । फिल्ममा अनमोल केसी, प्रिन्सी खतिवडा, नेन्सी खड्का, प्रकाश घिमिरे, रेअर राई, दिपक केसी, श्वेता मिश्र, लक्ष्मी गिरी, शारदा गिरी, लक्ष्मीनाथ तिमिल्सिना, शिशिर शिवाकोटी, अर्पणा घतानी, विविका पौडेल र कमल देवकोटा अभिनयमा रहनेछन् ।
निर्देशक केसीले यो चलचित्र ग्रामिण परिवेशको विशुद्ध प्रेमकथामा आधारित रहने बताए । फिल्म निर्माणमा जीयासँग भविष्य खड्काले साझेदारी गरेकी छन् । खड्का पछिल्लो हिट फिल्म ‘जेरी अन टप’की निर्मात्री हुन् ।
पहिलो चरणमा ४५ दिनको छायांकन सेड्यूअलसहित फ्लोरमा निस्केको यो फिल्मलाई काठमाडौ, ढोरपाटन, काभ्रेपलाञ्चोक, चित्लाङ र पोखरा लगायतका स्थानमा छायांकन गरिने निर्माण टिमले बताएको छ । चलचित्रमा तेजबिक्रम केसी कार्यकारी निर्माता छन् भने लेखन सामिप्यराज तिमिल्सेना र सरिन पोखरेलको छ । प्रदीप श्रेष्ठ एसोसिएट निर्देशक रहेको चलचित्रमा छायांकन राजेश श्रेष्ठको रहनेछ । रेनशा वान्तवा राईको कोरियोग्राफी रहने छ ।






