काठमाडौं । कृशन फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्म ‘लोकन्ती’ को टिजर सार्वजनिक गरिएको छ। यहि मंसिर २६ गते प्रदर्शनमा आउने फिल्मको टिजर ओएसआर डिजिटलको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको हो । टिजरले फिल्म पारिवारिक र विवाहको परिवेशको कथा बोकेको देखाएको छ।
परिवार, प्रेम, संघर्ष, शान्ति र समाजका सूक्ष्म द्वन्द्वलाई कथाको केन्द्रमा राखेर तयार गरिएको फिल्म निर्देशक रञ्जित रानाले पूर्ण पारिवारिक ड्रामाको रूपमा पेश गरेका छन्।
फिल्ममा अभिनेता एसराज गराच मुख्य भूमिकामा देखिँदैछन्। काभ्रे जिल्लाका वास्तविक र प्राकृतिक लोकेशनमा छायांकन गरिएको ‘लोकन्ती’ ले पारिवारिक प्रेमकथाभित्र लुकेका सामाजिक संवेदनाहरू उजागर गर्ने लक्ष्य लिएको छ।
फिल्मका निर्माता सन्तोष न्यौपाने हुन्। एसराजसँगै अभिनेत्री तथा मोडल ऋचा थापाको अनस्क्रिन केमिस्ट्री रहेको छ साथै, विमला लिम्बु,कुमार न्यौपाने र विकाश अधिकारी, दमन रुपाखेती,गोविन्द प्रभात,नारायण घर्ती मगर लगायत कलाकारहरूको मुख्य भूमिका रहेको छ। यसै चलचित्रमार्फत कुमार न्यौपाने र विकाश अधिकारीले अभिनय यात्राको सुरुवात गरिरहेका छन्।
संगीत निर्देशनमा विकास चौधरी, छायांकनमा रोनिश तामाङ च्याङ्बा,शृंगार अशोक रोक्काको रहेको छ भने सम्पादन गौतम राज खड्काले गरेका हुन् । चलचित्रमा शंकर अधिकारी,डा।ओम कृष्ण प्रसाईं,दिपेन्द्र खड्का र सन्दीप डाँगीको गीत रहेको छ।






