काठमाडौं । फिल्म ‘परालको आगो’को छायांकन ४० दिनमा पुरा भएको छ। निर्माण टिमले दसैं अघिबाट म्याग्दीको विभिन्न स्थानबाट छायांकन थालेको यो फिल्मको छायांकन मंगलबार सकाएको हो। फिल्म टिमले तीन फरक फरक लुक्सका तस्विर र रिलिज डेटसमेत सार्वजनिक गरेको छ। फिल्म आगामी बैशाख ११ गतेबाट प्रदर्शनमा आउनेछ ।
‘मैले अरु फिल्म प्रदर्शनको समयमा नआउने निर्णय गरेको छु। अरु फिल्म पनि चल्नुपर्छ भन्ने मान्यता राख्दै साधारण डेटमा आफ्नो फिल्म रिलिज गर्ने तयारीमा छु,’ निर्माता सुशील पोखरेलले भने । उनले फिल्मको चार वटा गीत सहित सम्पुर्ण छायांकन पुरा भएको र रिलिज डेट समेत तोकेको बताए। जेनजी आन्दोलन चलिरहेको बेलामा यो फिल्मको छायांकनमा अवरोध भएता पनि टेक्निसियन तथा निर्देशकको मेहनतले काम चाँडो सकिएको बताए। उनका अनुसार यो फिल्मको छायांकन सेड्युल ३० दिनको थियो। तर फिल्मका कलाकार,टेक्निसियन लगायतको अहोरात्र खट्दा पनि जेनजी आन्दोलन,वर्षा र पहिरोको कारण सेड्युल भन्दा १० दिन ढिला छायांकन सकिएको हो ।
गुरुप्रसाद मैनालीको चर्चित कथामा निर्माण गरिएको यो फिल्ममा सौगात मल्ल,प्रकाश सपुत, सुहाना थापा, सिर्जना अधिकारी, शंकर आचार्य, किशोर भण्डारी, कुलदीप अधिकारी, सरिता भण्डारी, रेणु न्यौपानेका साथै बालकलाकार एन्जिला बाँनिया रहेकी छन्।
सुशील देवकोटाको लेखन रहेको यो फिल्मको निर्देशन लक्ष्मण सुनारले गरेका छन्। यस फिल्ममा गीत सुरेन्द्र राना, मनबहादुर मुखिया र प्रकाश सपुतले लेखेका छन्। त्यसै गरि संगीतकारकमा शान्ति ठटाल, सत्य स्वरूप र अभिनेता प्रकाश सपुतकै रहने निर्माण पक्षले जानकारी दिएको छ। फिल्ममा संकल्प भुजेलको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी र नगेन्द्र घिमिरेको प्रोडक्सन छ । फिल्मको वितरण आर।आर फिल्मस र ओटीटी राईट ओएसआरले लिइसकेको छ ।






