फत्तेमानको जन्मदिनमा पलेँटीमा गीत

काठमाडौं । अङ्ग्रेजी महिनाको अन्तिम शुक्रबार नेपालयको ‘आर’शालामा आयोजना हुँदै आएको सांगीतिक कार्यक्रम पलेँटीमा यसपटक गायक फत्तेमानका गीत सुुनिने भएका छन् । शुक्रबार, नोभेम्बर २८ तारिख गायक फत्तेमानको जन्ममिति पनि हो ।

पलेँटीमा गायक फत्तेमानसँग लामो संगत गरेका संगीतकार आभासले फतेमानका सम्बन्धमा निबन्धवाचन गर्नेछन् । ‘फत्तेमान दाइसँग हामीले लामो संगत गर्यौ । त्यसैले उहाँसँग जोडिएका धेरै सम्झनाहरू छन् । तिनलाई बेलाबखत कोट्टाइ राख्नुपर्छ । जोगाइ राख्नुपर्छ’, उनी अगाडि भन्छन् ‘झन् यसपालि त उहाँको जन्म मितिकै दिन पलेँटी पर्न गयो । त्यसैले गीतहरू मार्फत नै उहाँको सम्झना गरौँ भन्ने भयो ।’

पलेँटीबारे फत्तेमानको आफ्नै बुझाइ थियो । ‘नेपालयले वीरेन्द्र अन्तर्राष्ट्रिय भवनमा मलाई पहिलोपटक स्टेजमा उतार्‍यो, त्यसबाट मलाई माया गर्ने धेरै श्रोता पाएँ मैले । फेरि पनि मौका पाउँ, माया पाउँ । स्वास्थ्यले साथ दिउन्जेल गाउनेछु,’ उनले भनेका थिए ।

पलेँटी आयोजना गर्दै आएको संस्था नेपालयले गायक फत्तेमानसँग सन् २००२ देखि संगत सुरु गरेको हो । सन् २००२ को अगस्ट १० तारिख नेपालयले ‘गायक फत्तेमान साँझ’को आयोजना गरेको थियो । हालको संसद भवनमा सम्पन्न भएको सो कार्यक्रम फत्तेमानको जीवनकै पहिलो एकल साँझ थियो । संगीतकार आभासले नै सो कार्यक्रमको संगीत संयोजन गरेका थिए ।

पलेँटी सन् २००५ देखि सञ्चालन हुँदै आएको लघु(साङ्गीतिक कार्यक्रम हो । पलेँटी अन्तर्गत पनि गायक फत्तेमानले फरकफरक समयमा तीनपल्टसम्म एकल गायन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा फत्तेमानले गाएका एक दर्जनभन्दा बढी गीतहरू प्रस्तुत हुनेछन् । जसलाई पलेँटी टिमले हप्ता दिनदेखि अभ्यास गरेर तयार पारेका छन् ।
पलेँटी कार्यक्रम यही नोभेम्बर महिनाको अन्तिम शुक्रबार र शनिवारका दिन आयोजना हुनेछ ।