काठमाडौं । रमेश कोइरालाको निर्देशकीय फिल्म ‘बिगुल’ले तीन पोस्टर सार्वजनिक गर्दै माघ ९ गतेलाई रिलिज मिति तोकेको छ । फिल्ममा कल्पना पौडेलको प्रस्तुति र दिनेश कोइरालाको कथा तथा निर्माण छ । पोस्टर मध्ये एउटामा अभिनेत्री बेनिशा हमाल गम्भीर भावमा छिन् । सोही पोस्टरमा राँको लिएका एक हुल प्रदर्शनकारी देखिन्छन । दोश्रो पोस्टरमा बेनिशा, अभिनेता नरेन खड्का र रमेश बुढाथोकी आक्रोशित छन् भने अर्को पोस्टरमा ‘बिगुल’ का सबै प्रमुख कलाकार समेटिएको छ ।
निर्माण पक्षले गत भदौ २३ र २४ मा भएको जेनजी पुस्ताको आन्दोलनकै विषय फिल्ममा रहेको बताएको छ । जेन्जी पुस्ताले आन्दोलन गर्नुभन्दा ४ महिना अघि नै तिनै बिषय केन्द्रित भइ फिल्म निर्माण गरिएको उसको दाबी छ ।
‘‘बिगुल’ मा हामीले उठाएको मुल मुद्धा र पछि जेन्जी पुस्ताले उठाएका माग,देश बिकास र परिवर्तनप्रति आम नेपालीको चाहनाको बिषय ठ्याक्कै मिल्न गएको छ । त्यसकारण यो फिल्म हामीले जेन्जी आन्दोलनप्रति समर्पित गरेका छौं’ निर्माता कोइरालाले भने, ‘फिल्मले युवा र महिलामा चेतना जगाइ भ्रष्टाचार र बिकृति उन्मुलनका लागि परिवर्तनको बिगुल फुकेको छ । आम नेपालीको समृद्ध र बिकसीत नयाँ नेपालको चाहनालाई सम्बोधन गरेको छ ।’
निर्देशक कोइरालाले पारिवारिक, सामाजिक न्याय र राजनीतिक सचेतनाबाट जन्मिएको नयाँ मार्ग, जहाँ भुइँमान्छेहरुको सपना,संघर्ष र बलिदानीको इतिहास फिल्ममार्फत पर्दामा लेखिएको बताए । म्याग्नोलिया ग्रुपको ब्यानरमा निर्माण भएको फिल्ममा बेनिशा हमाल, नरेन खड्का,रमेश बुढाथोकी,नीर शाह,सरोज खनाल,हेमन्त बुढाथोकी,शिसिर वाङ्देल,बिनोद न्यौपाने,जेएन घिमीरे,गीता अधिकारी,मीरा पण्डित,मानश्री शर्मालगायतका कलाकारले अभिनय गरेका छन् ।
प्रदिप भारद्वाज र मौनता श्रेष्ठको पटकथा,सम्वाद,शिब ढकालको छायाङकन,कमल राई र कविराज गहतराजको नृत्य निर्देशन,एनवी महर्जनको द्वन्द्व निर्देशन,बिश्वप्रकाश शर्मा,अर्जुन पोखरेल र मनोज चौलागाईंको संगीत,तारा थापा किम्भेको सम्पादन रहेको फिल्मको सहनिर्मातामा सूर्य कान्त कोइराला र महेश कोइराला छन् । काठमाडौं उपत्यकाभित्र काफिया फिल्म्स्ले बितरण गर्ने फिल्मको मोफसलको बितरण श्री ब्याङ्केट्स इन्टरटेन्मेन्टले गर्ने छ ।






