अभिमन्युः च्याप्टर १ प्रिमियरः कामेश्वरको चर्चा

काठमाडौं । फिल्म ‘अभिमन्युः च्याप्टर–१’ले गत सोमबार साँझ ललितपुरस्थित लविम महलको क्यूएफएक्समा हलमा गरेको प्रिमियरमा फिल्मका प्रमुखपात्र कामेश्वर चौरासिया चर्चाको केन्द्रमा परेका छन् । फिल्म कथ्य शैलीसँगै कामेश्वरको अभिनयको तारिफ भएको हो ।

फिल्म हेरिसकेपछि निर्देशक शोभित बस्नेतले कामेश्वरको प्रशंसा गर्न छुटाएनन् । ‘अभिमन्युमा कामेश्वरजस्तो अत्यन्त राम्रो कलाकार छ, त्यसले गर्दा यो फिल्म चल्नुपर्छ,’ उनले भने । अभिनेता दिव्यदेव पन्तले महिला पात्रको दमदार उपस्थितिसँगै कामेश्वरको काम गर्ने शैलीले थप राम्रो लागेको बताए ।

अभिनेता कामेश्वर मिडियासामु निकै भावुक देखिए । लामो संघर्षपछि मुख्य भूमिका निर्वाह गर्न पाएकोमा खुसी व्यक्त गर्दै उनले भने, ‘कलाकार बन्नको लागि स्क्रिप्ट नै चाहिदो रहेछ । अहिलेसम्म मैले जति काम गरेँ, सबैले सराहना गर्नुभयो तर लिड क्यारेक्टरको लागि एउटा बलियो लिखित दस्तावेज नै चाहिन्छ । जे गरेँ, यहाँ आइपुग्नकै लागि रहेछ ।’

फिल्म भोलि बिहीबारबाट रिलिज हुँदैछ । सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण भएको फिल्ममा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल, शिशिर वाङ्देल मुख्य भूमिकामा छन् ।

सुशान्त गौतमले निर्देशन गरेको फिल्ममा विनोद पौडेल र गुञ्जन गिरी निर्माता, रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता, विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ कार्यकारी निर्माता र लाइन प्रोड्युसरमा जीवन शाक्य छन्