परिवर्तन पोस्टरमा आक्रोश र जिम्मेवारी

काठमाडौं । दिब्यासी फिल्म्सको ब्यानरमा तयार भएको नेपाली फिल्म ‘परिवर्तन’को दोस्रो पोस्टर सार्वजनिक भएको छ। सार्वजनिक पोस्टरमा फिल्मका सात मुख्य कलाकारलाई क्यारेक्टर लुक्ससहित स्थान दिइएको छ ।

पोस्टरमा अभिनेता सुशील श्रेष्ठलाई घाइते अवस्थामा समेत दुश्मनमाथि बन्दुक ताकेर उभिएको एक्सन अवतारमा देखाइएको छ। अभिनेत्री अञ्जना बराईली यस पटक प्रहरी इन्स्पेक्टरका भूमिकामा देखिएकी छन्। उनको कडा नजरले अपराध अनुसन्धानमा जिम्मेवारी र न्यायप्रतिको प्रतिवद्धता झल्काउँछ। त्यस्तै, सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी र सुवास मेचेलाई पनि क्यारेक्टर लुक्समै पोस्टरमा उतारिएको छ।

विजय केरुङले निर्देशन गरेको फिल्ममा सुशील श्रेष्ठ, अञ्जना बराइली, सरोज खनाल, करिश्मा मानन्धर, हेमन्त बुढाथोकी, सुवास मेचे र बुद्धि तामाङलगायत कलाकार प्रमुख भूमिकामा छन्। दीपक सिवाकोटीको कथा तथा निर्माणमा तयार भएको फिल्मको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन्।

फिल्मका डिओपी शिव ढकाल हुन् भने सम्पादन बन्दे प्रसादले गरेका छन्। ट्रेलर पनि उनीकै सम्पादनमा तयार भइरहेको निर्माण टिमले बताएको छ। फिल्ममा रामजी लामिछानेको कोरियोग्राफी, एसडी योगीको संगीत र श्री श्रेष्ठको द्धन्द्व निर्देशन रहेको छ। फिल्म आगामी माघ ९ गते रिलिज हुँदैछ ।