काठमाडौं । मोडल बरुण अधिकारी फिल्म ‘तरङ्ग’मार्फत अभिनयमा डेब्यू गर्ने भएका छन् । अभिनेता प्रदीपकुमार चौधरीको डेब्यू निर्देशनमा निर्माण भइरहेको फिल्ममार्फत मोडल बरुणले ठूलो पर्दामा डेब्यू गर्न लागेका हुन् । एक दर्जनभन्दा बढी म्यूजिक भिडियोमा अभिनय गरिसकेका बरुण अब पहिलोपटक फीचर फिल्ममार्फत दर्शकमाझ आउन लागेसँगै उत्साहित देखिएका छन् ।
फिल्मको कथा, पात्र र निर्देशकको विश्वासले आफूलाई ‘तरंग’मा जोडिएको बरुणले बताए । ‘मेरो भूमिका शक्तिशाली छ। टिमको भरोसा मिहिनेतले उतार्नेछु,’ उनले भने ।
यो फिल्मको पटकथा लेखन पनि निर्देशक चौधरी स्वयंकै रहेको छ । फिल्म मनोरम प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको फिल्मको निर्माता सुजन राई र तर्कराज जोशी रहेका छन् ।
सुपरन्याचुरल लभस्टोरी जनरामा तयार हुने फिल्मको छायांकन इटहरी, धरान, बेलबारी, चतरा, चितवन, बुटवल, पोखरा र भेडेटारलगायत स्थानमा हुनेछ ।यो फिल्म हाल मोरङको बेलबारीमा छायांकन भइरहेको छ ।
करिब २ करोड रुपैयाँ बजेटमा तयार भइरहेको फिल्ममा बरुणसँगै रविना केसी, बारत लिम्बु, कृष्ण थापा, सारा राई, उजल राई र उत्तम गुरुङ लगायतका कलाकारहरूको अभिनय छ । फिल्मका छायाकार महेश पौडेल रहेका छन् । खलनायकका विविध भूमिकाबाट पहिचान बनाएका निर्देशक चौधरी लामो समयदेखि मण्डला नाटकघरसँग आबद्ध छन् । फिल्म सन् २०२६ मा रिलिज हुनेछ ।






