धरान (सुनसरी) । याक्थुङ समुदायको भाषा, पहिचान तथा सामाजिक जीवनलाई आदिम र मौलिक शैलीमै प्रस्तुत गर्ने उद्देश्यसहित निर्माण गरिएको पालामी कथानक फिल्म ‘मिम्लेन फुङ’ देशव्यापी प्रदर्शनको तयारी छ । याक्थुङ आर्ट फिल्म्सको ब्यानरमा तयार भएको फिल्मले याक्थुङ जनजीवनको मौलिक सौन्दर्य, प्रेम, सामाजिक संरचना र आत्मसम्मानका सङ्घर्षलाई केन्द्रमा राखेर कथा बुनेको निर्देशक रवि शेर्माले जानकारी दिए ।
फिल्मको छायाङ्कन ताप्लेजुङका सिकैचा, कुन्जारी, पाङभे, हेन्छेबुङ र वरुक्पा क्षेत्रका प्राकृतिक परिवेशमा गरिएको हो । याक्थुङ सांस्कृतिक जीवनशैली प्रत्यक्ष प्रतिविम्बित हुने भौगोलिक आधारका कारण फिल्मले ग्रामीण समुदायको वास्तविकता सजीव रूपमा उतारेको निर्देशक शेर्माको भनाइ छ ।
यी स्थान केवल छायाङ्कनका लागि चयन गरिएका भूभागमात्र नभई याक्थुङ समुदायको सांस्कृतिक स्मृति बोकेका जीवितस्थलसमेत रहेको निर्माण टोलीले जनाएको छ । गाउँका कच्ची भिरालो बाटो, पाखापखेराका खेत, यालाङ, केलाङजस्ता सांस्कृतिक अभ्यास हुने खुला चौर, स्थानीय घरपरिवारको पुरानो संरचनालगायतका दृश्यले फिल्मको कलात्मकता र मौलिकता थप उजागर गरेको छ ।
छायाङ्कनका अधिकांश दृश्य स्थानीय बस्तीको दैनिकीसँग घनिष्ठ रूपमा जोडिएका छन् । बिहान, साँझका घरायसी गतिविधि, सामुदायिक भेटघाट, चरन पाखामा गुञ्जिने बाँसुरीका धुन, पालामका स्वर र गाउँको सामूहिक जीवनशैली । यी तत्वले फिल्मलाई केवल कथा नभई सांस्कृतिक दस्तावेजका रूपमा महत्व बढाएको निर्देशक शेर्माको भनाइ छ ।
फिल्मकी मूल पात्र हरिमाया (हरिमाया मादेन) आत्मसम्मानयुक्त दृढ युवती हुन् । उहाँसँगै तीनताले ठूले (जीवन केदेम्बा)को प्रेमयात्रा पनि कथाको मूल पृष्ठभूमिमा रहन्छ । बाल्यकालदेखि यालाङ र बाँसुरीका सांस्कृतिक धुनमा बाँधिएका यी दुई पात्रको सम्बन्ध उमेरसँगै प्रेममा विकसित भए पनि सामाजिक मान्यता, पारिवारिक दबाब र पुराना परम्परागत बन्धनका कारण विवाहमा परिणत हुन सक्दैन ।
सामाजिक बन्धनबाट निस्कन खोज्दै हरिमायाले भारतीय सेनामा कार्यरत छेवाङ तामाङसँग विवाह गर्छिन् । तर विवाहपछि छेवाङ युद्धमा वीरगति प्राप्त गरेपछि हरिमाया फेरि सामाजिक पूर्वाग्रह, आरोप र अपमानका बीच मानसिक रूपमा कठोर जीवन बिताउन बाध्य हुन्छिन् । ‘पोइ टोकुवा’, ‘अलच्छिनी’जस्ता तल्लो दर्जाका आरोपले उहाँले भोगेको पीडा फिल्मको मुख्य संवेदनशील पक्ष बनेको छ ।
फिल्ममा हरिमाया मादेन र जीवन केदेम्बासहित रेसा आङ्खेवा, कृष्ण लिम्खिम, कुमार लक्सम्वा, कमिता तुम्बापो, सनबहादुर मादेन, आइतरानी मादेनलगायत कलाकारको अभिनय छ । आशराज बोखिमको कथा पटकथा र रविन शेर्माको निर्देशनमा बनेको यस फिल्ममा पालाम सम्राट सुवर्ण नेम्वाङका दर्जनौँ पालाम समावेश गरिएका छन् ।






