झरीपछिको इन्द्रेणी ट्रेलरः अष्ट्रेलिया सपना र भ्रष्टाचारविरुद्ध युवा विद्रोह

काठमाडौं । हास्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’को डेव्यु निर्देशनमा निर्माण भएको फिल्म ‘झरीपछिको इन्द्रेणी’को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा २ मिनेट ५५ सेकेण्डको ट्रेलर सार्वजनिक गरिएको हो ।

ट्रेलरमा एक युवाको अष्ट्रेलिया गएर पढ्ने सपना हुँदाहुँदै त्यो पुरा नभएपछि भ्रष्टाचार र बेथितीविरुद्ध उसले गरेको विद्रोहलाई देखाइएको छ । ट्रेलर हेर्दा भ्रष्टाचारमा ती युवाको बुवा पनि संलग्न हो कि भन्ने अनुमान लगाउन सकिन्छ । उनको विद्रोहलाई उनका साथीहरुले साथ दिएको देखाइएको छ ।

फिल्मका निर्देशक घिमिरेले फिल्मको कथावस्तु जेनजी पुस्तासँग मिल्दोजुल्दो भए पनि नेपालमा गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन अगावे सुटिङ सकिएकाले कथा कहीँ कतै मिल्न सक्ने बताए । नागराज इन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको फिल्ममा गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, अर्जुन घिमिरे (पाँडे), प्रियना आचार्य (मुन्नी), अंशु महर्जन, राजेन्द्र नेपाली, लक्षणा राईको अभिनय छ ।

आगामी पौष ४ गते देशब्यापी रिलिज हुने फिल्मबाट कलाकार विमोचन दवाडी र जेसिका पोखरेलले डेब्यू गर्दैछन् । बाल कलाकारमा दिप्सन चिलवालले पनि अभिनय गरेको निर्माण कम्पनीले जनाएको छ । फिल्मको एक गीतमा मोडल अञ्जली अधिकारी र कोरियोग्राफर प्रदीप लामा पनि विशेष भूमिकामा देखिनेछन् ।

निर्देशक घिमिरेको कथा रहेको फिल्मको पटकथा र संवादमा गणेश कार्की, विशाल घिमिरेको सहकार्य छ । फिल्मका छायांकार बुद्ध थापा हुन् । अनिशा सेन्दाङ लिम्बु निर्मात्री, अनु थापा, पंकज खड्का, सिर्जना खड्का, सुवास शर्मा र राम कार्कीको सह(निर्माता तथा लाइन प्रोड्युसरमा योगेश खतिवडा र विनोद कँडेल रहेको छन् ।