पीआरका सुरजः शोभितको तारिफ, सलिनाप्रति आभारी

काठमाडौं । अष्ट्रेलियामा अध्ययन र मोडलिङमा सक्रिय सुरज पौडेल फिल्म ‘पीआर’ मार्फत नेपाली फिल्म क्षेत्रमा डेब्यु गर्दैछन्। आउँदो शुक्रबारबाट रिलिज हुने फिल्ममा उनी आफ्नो कामप्रति ढुक्क छन् । फिल्मको प्रमोसनका लागि नेपालमा रहेका पौडेलले फिल्मसँग जोडिएका रोचक कुरा सुनाएका छन् ।

उनका अनुसार अष्ट्रेलियामा निर्देशक शोभित बस्नेतले फिल्मको लागि अडिसन लिइरहेको कुरा शोभितकी छोरी सलिनामार्फत थाहा पाएपछि उनले अडिसन दिएका रहेछन् । ‘सलिना बस्नेतले मलाई म्यासेज गरेर अडिसन भइरहेको बताएपछि अडिसनमा सहभागी भएँ । अभिनय गर्ने मन त पहिलेदेखि नै थियो, त्यसैले अडिसन दिएँ र चयन भएँ । म सलिनाप्रति आभारी छु’, उनले भने ।

सलिनासँग सुरजको भेट सन् २०१९ मा ‘ग्लामर नेपाल’ मोडलिङ शोको दौरान भएको रहेछ । उनले सलिनाबाट खबर पाउनासाथ तुरुन्तै शोभितलाई म्यासेज पठाएर अडिसनको स्थान र समयबारे जानकारी लिए । ‘वान–लाइन अडिसनपछि उहाँले “के छ त तिम्रो बिचार ?” भनेर सोध्नु भयो। अष्ट्रेलियामा समय व्यवस्थापनको कुरा मनमा थियो, तर उहाँले “अतालिनु पर्दैन, स्क्रिप्ट पढ अनि निर्णय गर” भन्नुभयो। उहाँको सुझावले धेरै आत्मविश्वास दिलायो’, उनले भने, ‘उहाँले ‘तिमीले स्क्रिप्ट पढिसकेपछि फिल्म गर्न सक्छु भन्ने आत्मविश्वास आउनेछ’ भन्नुभएपछि त्यही रातमै स्क्रिप्ट पठाइदिनुभयो। पढेपछि कास्टमा जोडिनुपर्ने नै लाग्यो। कथाको ९९ प्रतिशत भाग मेरो आफ्नै जीवनजस्तै रहेछ ।’

उनले फिल्ममा अष्ट्रेलियामा अध्ययनरत नेपाली विद्यार्थीको वास्तविकता कथामा छर्लङ्ग देखिने बताए । निर्देशक शोभितको सहजीकरणले काम गर्न सजिलो भएको भन्दै तारिफ गरे । ‘जीवनमा कुनै पनि कुरा पुरै सहज हुँदैन। तर शोभित बस्नेतजस्तो अनुभवी निर्देशकसँग काम गर्दा धेरै सहज भयो। उहाँले फिल्म क्षेत्रमा कमाएको अनुभवका आधारमा हामीलाई सहज वातावरण दिनुभयो। अरु कसैसँग भएको भए यति सहज हुने जस्तो लाग्दैन,’ उनले भने । उनले अभिनय सम्बन्धी कक्षा लिएको र दुई–तीनवटा वर्कसप गरेकाले पनि अभिनयमा सहज भएको बताए ।