काठमाडौं । नेपालमा सस्पेन्स थ्रिलर ड्रामाका फिल्म संख्यात्मक हिसाबमा कमै बन्छन् । अझ भनौं यस्तो जनराको स्क्रिप्ट कमै मात्र लेखिन्छ । हलमा प्रदर्शनरत फिल्म ‘अभिमन्युः च्याप्टर–१’ यस्तै सस्पेन्स थ्रिलर ड्रामा हो । जसले सस्पेन्समा दर्शकलाई राख्छ र नेपाली समाजको कथा भन्छ ।
अधिकांश समय सस्पेन्स क्रिएट गर्दै फिल्म मधेसमा समस्याकै रुपमा रहेको दाइजो प्रथाको कथा भन्छ । दोस्रोमा पछिल्लो समय नेपाली समाज कसरी इजी मनिका लागि सहजै अनेक तिकडम गरिरहेको छ भन्ने कुरा फिल्मले देखाएको छ । फिल्म हेर्ने अधिकांश दर्शकले र समीक्षकले सस्पेन्स पाटोलाई मनपराएका छन् । दर्शकले त यसको सिक्वेलको पनि माग गरेका छन् ।
सुशान्त गौतमले निर्देशन गरेको फिल्मको क्रिएटिभ निर्देशक मदन थापा हुन् । यस फिल्ममा मुकेश खनालको लेखन रहेको छ । फिल्ममा कामेश्वर चौरासिया, सरिता गिरी, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, शिशिर वाङ्देल, किरण श्रेष्ठ र प्रकाश दाहाललगायतको अभिनय छ । फिल्मका निर्माता विनोद पौडेल र गुञ्जन गिरी छन् भने रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता छन् ।
फिल्ममा कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् । फिल्मको लाइन प्रोड्युसरमा जीवन शाक्य रहेका छन् ।






