सेन्सर गतिविधिबारे मन्त्रालय र कलाकारबीच छलफल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आयोजनामा चलचित्र सेन्सर बोर्डको कार्यविधि, समस्या र समाधानका उपायहरू विषयमा गत आईतवार सञ्चार मन्त्रलयमा छलफल भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेल, सचिव राधिका अर्याल तथा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी र फिल्मकर्मीबीच छलफल भएको छ ।

कार्यक्रममा दीपकराज गिरी, प्रकाश सुवेदी, सुवास काफ्ले, कृषा चौलागाई, सरोज न्यौपाने, विकास सुवेदी, करण श्रेष्ठ, दीपकप्रसाद आचार्य, क्षितिज सुवेदी, रत्न श्रेष्ठ, राजबहादुर साने, पुरुषोत्तम प्रधान, सागर लामिछाने, राज श्रेष्ठ, शिवम अधिकारीलगायत सहभागी थिए ।

यसैगरी चलचित्र सेन्सर बोर्डका प्रमुख उदय राना मगर, चलचित्र विकास बोर्डका सदस्य सचिव राजेश कुमार थापा, तथा बोर्ड सदस्यहरू लोकनाथ सुवेदी र ममता बास्तोलाको पनि सहभागिता रहेको थियो।

छलफलका क्रममा चलचित्र सेन्सर प्रक्रियामा देखिएका व्यवहारिक चुनौतीहरू, स्पष्ट र पारदर्शी कार्यविधिको आवश्यकता, साथै चलचित्रमैत्री समाधानका उपायहरूबारे गहन र रचनात्मक विचार–विमर्श गरिएको थियो।

कार्यक्रमबाट प्राप्त भएका सुझावहरूलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत नीतिगत सुधारका लागि अध्ययन गरी आवश्यक कार्यविधि संशोधन गर्ने तथा ऐनमा समावेश गर्नुपर्ने विषयहरूलाई राष्ट्रिय सभामा सुझावका रूपमा प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।