काठमाडौं । अष्ट्रेलियामा बस्दै आएकी विनिता कार्की फिल्म ‘पीआर’मार्फत नेपाली फिल्ममा पाइला चाल्दैछिन् । मोडलिङबाट फिल्मको अभिनयमा छिरेकी उनी यही मंसिर २६ गतेबाट अलनेपाल फिल्म ‘पीआर’ को प्रचारप्रसारका लागि नेपालमा छिन्। उनका अनुसार अष्ट्रेलिया पुगेको नेपाली युवाको कथालाई फिल्मले बोल्ने छ।
सानो छँदा रेखा थापा, झरना थापा, निरुता सिंहको अभिनय र नृत्य हेरेर हुकिएकी उनको सपना अभिनेत्री बन्ने थियो। अहिले शोभित बस्नेतको फिल्म ‘पीआर’मा मुख्य भुमिकामा अभिनय गर्न पाउँदा उनी दंग छिन्।
फिल्म रिलिजको छेकोमा आइपुग्दा उनमा केही डर र खुशी छ । ‘फिल्ममा म फेसबुकमार्फत जोडिएको हो। फेसबुकमा चाहिँ मलाई एक जना दिदीले मेन्सन गरिदिनुभएको थियो। उहाँले गरिदिनुभएको मेन्सनकै आधारमा यो फिल्मसम्म आइपुगेको हो’, उनले भनिन्, ‘यो फिल्मको अडिसन चल्दैछ भन्ने कुरा थाहा पाएपछि म अडिसनका लागि गए। अडिसनमा मलाई तिमी सेलेक्सट भयौ भन्नुभयो। तर उहाँहरुले फिल्ममा खेलाई हाल्छौँ भन्ने कुरा गर्नुभएन। सेलेक्ट भए पनि अझैँ हामी इन्टरभ्यु लिन्छौँ भन्नुभयो। अनि थाहा हुन्छ कि तिमीले फिल्ममा अभिनय गर्न सक्छौं भन्दैनौ भन्ने कुरा निर्देशक शोभित बस्नेतले भनेपछि,मैले इन्टरभ्यु पनि दिए। त्यसमा पास भएपछि बल्ल यो फिल्ममा काम गर्न पाएको हो।’
उनी फिल्ममा आउनुभन्दा अघि सन् २०१८ ताका नेपालमै रहँदा मोडलिङ गर्थिन् । तर अष्ट्रेलियामा पुगेपछि भने मोडलिङमा केही कमी आएको उनको भनाई छ । उनको अनुभवमा निर्देशक राम्रो भए भने अभिनय नसिकी काम गर्न सहज हुन्छ । ‘डिरेक्सन गर्ने मान्छेले हौसला दिएपछि,म पनि अभिनय गर्न सक्छु भन्ने आँट आउदो रहेछ। जुन आँट मलाई निर्देशक शोभित बस्नेत सरले दिनुभयो। साथै राम्रो टिम भयो भने अभिनय गर्न गाह्रो हुँदैन भन्ने फिल भयो,’ उनले भनिन् ।






