काठमाडौं । किताब यात्रा फाउण्डेसनले साहित्य, भाषा, कला र संस्कृतिको प्रवर्द्धन गर्न वार्षिक रुपमा आयोजना गर्दै आएका ‘किताब जात्रा’ यही मंसिर २५ र २६ मा काठमाडौंको प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा गर्ने भएको छ । यो सातौं संस्करण हो ।
किताब जात्राका निर्देशक ऋषिराम अधिकारीले सामाजिक गहिराई, परम्परागत मूल्यको विश्लेषण, राजनीतिक सन्दर्भको भूमिका, सुनौलो भविष्यका लागि विभिन्न क्षेत्रका विज्ञहरू दिशाबोधका विषयमा गहन बहस र समीक्षाका साथै सांगीतिक महोलबीच कार्यक्रम हुने बताए । अधिकारले सेसन कक्ष र स्टल तयारीको काम अन्तिम चरणमा पुगेको जानकारी दिएका छन्। फेस्टिबलमा दुइ दर्जन भन्दा बढी छलफल सत्र, अन्तर्क्रियात्मक कार्यक्रम, सांगीतिक प्रस्तुति र अन्य रचनात्मक कार्यक्रम समावेश गरिएको उनको भनाइ छ।
कार्यक्रममा देश–विदेशका साहित्यकार, राजनीतिज्ञ, लेखक, कलाकार, सम्पादक, पत्रकारलगायतको उपस्थिति रहने छ। फेस्टिबलमा साहित्यसँग जोडिएका सामाजिक, राजनीतिक, आर्थिक, नवीन प्रविधि, सिनेमालगायत विविध क्षेत्रका विषयमाथि गम्भीर मन्थन हुनेछ।
किताब जात्रामार्फत नेपाली साहित्यको बजार विस्तारका साथै सांस्कृतिक तथा पर्यटकीय हिसाबले पनि घनिभूत बनाउन खोजेको अधिकारीले बताए। ‘जेनजी आन्दोलनपछि खलबलिएको समाजलाई लयमा ल्याउन किताब जात्रा फेष्टिबलको केही न केही कन्ट्रिव्युशन गर्छ भन्ने लाग्छ,’ उनले भने।
महोत्सवमा किताब प्रदर्शनी, मिथिला आर्टको लाइभ पेन्टिङ, फुड स्टल, जदौ हजुरको सांगीतिक प्रस्तुती, सुदूरपश्चिमेली छलिया नाच, तराइ मधेशको झिझिया नाच, पूर्वेली मारुनी नाच पनि देखाइने छ।






