डा. सुबोधकुमारको गीति एल्बम परेली सार्वजनिक

काठमाडौं । गीतकार एवं फिल्म निर्देशक तथा निर्माता डा. सुबोधकुमार पोखरेलको गीति एल्बम ‘परेली’ सार्वजनिक भएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमबीच ६ वटा गीत संग्र्रहित एल्वम फिल्मकर्मी एवं गीतकार नीर शाह, चलचित्र पत्रकार प्रकाश सुवेदी, टेलिभिजन पत्रकार टीकाराम यात्री, गायक शिव परियार र फिल्म निर्माता सुनील पोखरेलले सार्वजनिक गरे । गीतहरूमा दीपक शर्माको संगीत, नरेन्द्र बियोगीको एरेञ्ज तथा राजेशपायल राई, अञ्जु पन्त, शिव परियार, प्रमोद खरेल, प्रवीण बेडवाल, रचना रिमाल र वेनिशा पौडेलको स्वर छ ।

कार्यक्रममा गीतकार शाहले संगीत क्षेत्रमा नवीनतम् प्रयोग नभएसम्म यसको श्रीवृद्धि हुन नसक्ने बताए । उनले गीति साहित्य सरल, सुसंस्कृत साहित्य भएको बताउँदै साहित्यका अन्य विधाभन्दा गीति क्षेत्र कम सशक्त नभएको बताए ।

संविधानसभाका सदस्यसमेत रहेका गीतकार डा. पोखरेलले गीतसंगीत क्षेत्रको विकास बिना राष्ट्रको विकास हुन नसक्ने भएकाले आफूले चिकित्सकीय क्षेत्रको अतिरिक्त फिल्म र सांगीतिक क्षेत्रलाई पनि महत्व दिएको बताए । कार्यक्रममा पत्रकारद्वय सुवेदी र यात्रीले साहित्य, कला र संगीत बिनाको मानिस पशुतुल्य हुने बताउँदै डा. पोखरेलको गीति लेखन, फिल्म निर्माता एवं निर्देशनको भूमिका प्रशंसनीय रहेको बताएका थिए ।