काठमाडौं । फिल्म ‘गोबर गणेश’को पोस्टर सार्वजनिक गरिएको छ । माघ १ गते रिलिज हुने फिल्मको पोस्टर निर्माण पक्षले मंगलबार पोस्टर सार्वजनिक गरेको हो ।
पोस्टरमा फिल्मका मुख्य कलाकारद्वय मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) र वर्षा शिवाकोटी छन् । वर्षा रिक्सा चलाइरहेकी छन् भने सोही रिक्सामा बल्छी धुर्बे छन् ।
दुवै खुसी मुद्रामा छन् । पोस्टर हेर्दा उनीहरू फोहोर उठाउने मजदुरजस्ता देखिन्छन् । रिक्सामा फोहोर छ, फोहोर उठाउने डस्ट प्यान छ । बल्छीको गलामा सिठी छ । पृष्ठभूमिमा सहरका बाक्ला घर छन् ।
बल्छी धुर्बे निर्देशित फिल्म हाल पोस्टप्रोडक्सनमा छन् । निर्देशक बल्छी ध्रुवेले सानो पर्दामा जस्तै ठूलो पर्दामा पनि दर्शकबाट माया पाउने अपेक्षा रहेको बताए । बल्छी धुर्बे फिल्मस्को प्रस्तुतिमा निर्माण भएको फिल्ममा बल्छी र वर्षासँगै विनोद न्यौपाने,पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, सन्तोष बानिया, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पुजन घिमिरे (पुकु), बुद्धि तामाङ, विशाल पहाडी, रमेश बुढाथोकी, स्वस्तिका लामिछानेलगायत छन् ।
तारानाथ न्यौपाने चिफ एडी रहेको फिल्म योगेश काजी शाहको बीजीएम, शंकर पाण्डेको प्रोडक्सन, शिवराम श्रेष्ठको डीओपी र विपीन मल्लको सम्पादन रहनेछ । टौवा स्टुडियोको पब्लिसिटी डिजाइन रहने चलचित्रको डिजिटल पार्टनरमा ओएसआर डिजिटल रहेको छ । नेपालमा यो चलचित्रको वितरण श्री ब्याकटेस इन्टरटेनमेन्टले गर्नेछ ।






