काठमाडौं । ‘बिटी कान्छा’ को उपनामले परिचित विश्वास तिमल्सेनाको लेखन तथा निर्देशन रहेको सिरिज ‘हरामी’ को शीर्ष गीत सार्वजनिक गरिएको छ । हरी, राहुल र मिलन नामका तीन चरित्रको पहिलो अक्षरमा आधारित भई नामांकन गरिएको सिरिजले सोही बोलको प्रमोसनल गीत सार्वजनिक गरेको हो । मन प्रोडक्सनले निर्माण गरेको उक्त सिरिजको सार्वजनिक गीतमा शब्द, संगीत र गायन साइलाको रहेको छ । संगीत निर्माण समिरन राणाले गरेका हुन् ।
आफ्नो युट्युब च्यानलमार्फत् नेपाली फिल्मको रमाइलो समीक्षा गर्दै आएका बिटी कान्छा अर्थात् विश्वास पछिल्लो समय ‘कमेडी दरबार’मा पनि देखिँदै आएका छन् । ‘कमेडी दरबार’ भित्र विभिन्न भूमिकामा देखिने बिटी कान्छाले सिरिजमा पनि विभिन्न विषयलाई प्रस्तुत गर्ने जमर्को गरेका छन् ।
सिरिजको प्रसारण भइसकेको पहिलो भागमा उनले साथीहरुको दबाबले लिने निर्णयलाई हास्य रसमा प्रस्तुत गरेका छन् । ‘हामीले प्रसारित पहिलो भागबाट राम्रो समीक्षा पाएका छौँ । कुल पाँच भागको एपिसोड रहने सिरिजमा फरक फरक थिममा रहेर एपिसोड तयार गरेका छौँ’, बिटी कान्छाले भने ।
उनले हरेक हप्ता फिल्म क्षेत्रका चर्चित नाम सिरिजमा देखिने जानकारी गराएका छन् । तीन साथीको वरिपरि केन्द्रित रहेको सिरिजमा निकुन श्रेष्ठ, ऋषिकेष बस्याल र सशांक बोहरा मुख्य भूमिकामा छन् । उनीहरूसँगै सिरिजमा घनुभाइ जोशी, रक्षा थापा, गौमाया गुरुङ, प्रीतिशा अधिकारी आदिको भूमिका रहेको छ ।






