काठमाडौं । नेपालमा पाँचौँ हप्तासम्म प्रदर्शन भइरहेको फिल्म ‘मन बिनाको धन’ अब अमेरिकामा प्रदर्शन हुने भएको छ। सानो गाउँबाट सुरु भएको बाल गायक तथा अभिनेता अशोक दर्जीको संघर्षपूर्ण जीवनयात्रालाई प्रस्तुत गरिएको फिल्मले नेपालमा दर्शकको मन जितिसकेको छ।
ग्रेट इभेन्ट मुभीको प्रस्तुतीमा फिल्म अमेरिकी दर्शकसमक्ष लैजाने तयारी भइरहेको निर्माण पक्षले जनाएको छ। नेपालमा फिल्मले तीन करोड अस्सी लाख रुपैयाँभन्दा बढी व्यवसाय गरिसकेको छ। अमेरिकामा प्रदर्शनको औपचारिक घोषणा भइसकेको र विभिन्न शहरहरूमा शोको तयारी भइरहेको जानकारी निर्माण टिमले दिएको छ। नेपाली कला, संस्कृति र प्रतिभालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्दै आएका ग्रेट इभेन्ट मुभीका डा. कुमार गुरुङले चलचित्र प्रदर्शनका लागि सहयोग गरेका छन्।
फिल्ममा अशोक दर्जीसँगै सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, रमेश विश्वकर्मा, भोला सापकोटा, बुद्दि तामाङ, रवीन्द्र झा, पार्वती अधिकारी, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत, बाबु पराजुली, रक्षा श्रेष्ठ, प्रियंका झा, आर्यन पोखरेल र विजय डंगोललगायत कलाकारको अभिनय छ ।
टंक बुढाथोकीले निर्माण तथा निर्देशन गरेको फिल्मको कथा पनि बुढाथोकीले नै लेखेका हुन्। पटकथा तथा संवाद शिवम अधिकारीले तयार गरेका छन्। टंक बुढाथोकी प्रोडक्सनको प्रस्तुतिमा फिल्मको निर्माण विष्णुमाया मैनालीले गरेकी हुन् भने कार्यकारी निर्मातामा मिनु शर्मा (सपना) तथा सहनिर्मातामा जी.पी. संग्रोला, विवेक नेपाल र विजय पाण्डे रहेका छन्।






