काठमाडौँ । चन्द्र पन्त निर्देशित फिल्म ‘आ बाट आमा’को टिजर हालसम्म १२ लाख बढी दर्शकले हेरेका छन् । युटुबमा रिलिज भएको छोटो समयमा नै १२ लाख भ्युज कटाएको हो।
त्यसैगरि ५६ हजार लाइक दर्शकले यस टिजरलाई गरेका छन् । युटुबमा कमेन्टकर्ता आशिष मल्ल ठकुरीले यो टिजरलाई एक सय ३ पटक हेर्दा पनि आफ्नो मन नभरिएको प्रतिक्रिया दिएका छन्। अर्का कमेन्टकर्ता सुरज थापाले अभिनेत्री विपना थापाको जतिकै अभिनय गर्न कसैले नसक्ने दाबी गरेका छन्।
छोराप्रति आमाबुबाको मनमा कस्तो हुन्छ भन्ने भाव फिल्मको टिजरले झल्काएको छ । टिजरमा विदेशिन लागेको छोराप्रति अभिनेत्री विपना थापा र प्रदीप रावतको कारुणिक रुवाईले दर्शक भावुक बनाउँछ ।
चितवन, काठमाडौं लगायत विभिन्न स्थानमा खिचिएको यस फिल्ममा पल शाह, प्रदीप रावत, विपना थापा, गजित बिष्ट, साइग्रेस पोखरेल, सिम्रन पन्त, उषा उप्रेती लगायतले मुख्य भुमिकामा अभिनय गरेका छन्। आमा र सन्तानबीचको माया ममता तथा स्नेहको कथालाई फिल्मले बोल्ने छ।
आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो फिल्मको डिओपीमा नवराज उप्रेती रहेका छन्। फिल्मको संगीतमा कोशिस क्षेत्री,बाबुल गिरी,थानेश्वर गौतम,रहेका छन्। यस फिल्मको वितरण आरआर फिल्म्सले गर्दैछ भने यो फिल्मको डिजिटल अधिकार ओएसआर डिजिटलले लिएको छ। फिल्म आगामी माघ १६ गतेबाट प्रदर्शनमा आउँदैछ।






