सन्तति चिन्तनमा गयो गयो उमेर

काठमाडौँ । धार्मिक र सामाजिक दायित्वको भावनालाई आत्मसात गर्दै बढ्दो उमेर, स्वास्थ्य र विदेशिएका सन्ततिप्रतिको चिन्तालाई विषयवस्तु बनाएर तयार पारिएको गीत ‘गयो गयो उमेर, बाँचौ रमेर’ सार्वजनिक भएको छ । कलाकार मिथिला शर्मासहितका कलाकारहरूद्वारा अभिनित उक्त गीतको भिडिओ सार्वजनिक शनिबार राजधानीमा अभिनेत्री बसुन्धरा भुसालले सार्वजनिक गरिन् ।

उनले उमेर बढेकोमा चिन्ता लिन आवश्यक नरहेको बताइन् । ‘बढ्दो उमेरले हामीलाई अनुभवी बनाएको छ । आफ्नो स्वास्थ्यको ख्याल राख्न सके बढ्दो उमेरको सुन्दरता तर्फ हाम्रो ध्यान जान्छ । हामीले सकरात्मक पक्षलाई बढाउनु जरुरी छ,’ उनले भनिन् ।

उनले गीतले दिएको सन्देशसँगै गायिका लक्ष्मी भुजेल महर्जनको आट र कलाकार मिथिला शर्माको साथको तारिफ गरिन् । ‘बाल्यकालदेखि नै गायनको सपना भए पनि परिवारलाई समय दिएर आफ्नो इच्छालाई मारेकी गायिका लक्ष्मीलाई परिवारले साथ दिएर ढिलै भएपनि गायनमा ल्याउनु भयो । भिडियोमा अभिनय गर्न मिथिलाको साथ उत्तिकै देख्दा खुशी लागेको छ’, उनले भनिन् ।

कलाकार मिथिला शर्माले लक्ष्मीको सपनाको एउटा हिस्सा बन्न पाउँदा खुसी लागेको बताइन । ‘मलाई भिडियोमा काम गर्ने अफर आउँदा म गायिका लक्ष्मीको परिवार प्रतिको त्याग र अहिले परिवारकै साथका कारण गायिका बनेको सुन्दा प्रभावित भएँ । हामी कलाकारितामा लाग्नेले परिवारको साथ नभई आफ्नो उद्देश्यमा सफलता पाउन सक्दैनौँ । लक्ष्मीजी ढिलै भएपनि गायनमा आउनुभएको छ, अब निरन्तरता दिनुहुनेछ भन्ने आश छ’, अभिनेत्री शर्माले भनिन् ।

गायिका लक्ष्मीले बाल्यकालदेखि नै गायनमा रूची भए पनि पारिवारिक दायित्वका कारण निरन्तरता दिन नसकेको खुलाइन । ‘मैले परिवारलाई समय दिएँ, किनकी त्यो समयमा मेरो त्यही दायित्व थियो । अहिले परिवारको साथले मैले आफ्नो सपना पुरा गरेकी छु’, गायिका महर्जनले भनिन् । गीतमा उनकी दिदी सुशीला भुजेलको शब्द र शिव शाहीको संगीत छ ।

गीतको भिडियोमा कृष्णभक्त महर्जन, अर्जुन रञ्जित, जिनेन्द्रमान जोशी, न्युछे महर्जन, सुशीला भुजेल, लक्ष्मी भुजेल महर्जन, सबिना महर्जन, उर्मिला जोशी, श्रीजना मानन्धर, लीला कट्टेल, जिभिसन मान जोशी, बीना जोशी, नीरज अंशु प्रधान, चन्द्र मान श्रेष्ठ, रमेश श्रेष्ठ, राहुल थापा लगायतको पनि अभिनय छ ।
रवि सायमीको सम्पादन र निर्देशन रहेको भिडियोमा भवानी शिलाकारको छायांकन, प्रिया कार्कीको शृंगार छ ।