चिनियाँ फिल्मको प्रदर्शनसँगै अन्तरक्रिया

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा आइतबार ‘प्रथम हिमालयन रिम क्षेत्रीय फिल्म प्रदर्शनी २०२५’ सम्पन्न भएको छ । चिनियाँ फिल्महरूको विशेष प्रदर्शन गरिएको कार्यक्रममा कलाकार, शिक्षक र विद्यार्थीहरूबीच फिल्म, संस्कृति र प्रविधिका विषयमा अन्तरक्रिया गरिएको थियो । ‘सभ्यताबीच आपसी सिकाइ, प्रविधिगत नवप्रवर्तन’ नारासहित आयोजना गरिएको प्रदर्शनीमा एनिमेटेड फिल्म प्रदर्शन, हस्तकला कार्यशाला, सांस्कृतिक तथा सिर्जनात्मक प्रदर्शनी र सिनेम्याटिक संवादजस्ता विविध कार्यक्रम समेटिएका थिए ।

कार्यक्रमको सुरुवात एआईद्वारा निर्माण गरिएको प्रवद्र्धनात्मक सर्ट फिल्मबाट गरिएको थियो । त्यसपछि एआईजीसी(एआई जेनेरेटेड कन्टेन्ट) प्रविधिबाट पूर्ण रूपमा तयार गरिएको एनिमेटेड सर्ट फिल्म ‘द स्पिरिट अफ द माउन्टेन्स’ प्रदर्शन गरियो । चिनियाँ अमूर्त सांस्कृतिक सम्पदा ‘छ्वानसिङ तुओ’ (पूर्ण आकार रबिङ) प्रविधिबाट प्रेरित फिल्मले परम्परागत संस्कृतिसँग एआईको अनौठो र प्रभावशाली संयोजन प्रस्तुत गरेको थियो ।

यो फिल्म प्रदर्शनपछि फिल्मका निर्देशक पाङ जियाले भिडियो लिंकमार्फत प्रत्यक्ष रूपमा एआई दृश्य–निर्माण प्रक्रियाबारे जानकारी दिएका थिए । निर्माता जुन्यान हुआङले विद्यार्थीहरूसँग अन्तरक्रिया गरेका थिए । दिउँसोको सत्रमा एनिमेटेड फिल्म ‘द लिजेन्ड अफ हेइ २’ प्रदर्शन गरियो । यो फिल्मले डायनामिक स्टोरीबोर्ड प्रि–भिजुअलाइजेसन प्रविधिमार्फत मानव र दानव(पहाड, पानी, काठ, ढुंगा र जनावरका प्रतीकात्मक पात्रहरू)बीचको सहअस्तित्वको हृदयस्पर्शी कथा प्रस्तुत गरेको छ । फिल्मले प्रकृति र मानवको एकता तथा सबै जीवको सहअस्तित्व भन्ने पारिस्थितिक सन्देश दिन्छ । कार्यक्रमको अन्त्यमा ‘ब्लाइन्ड बक्स इन्टरएक्सन’ गरिएको थियो ।

आयोजक हिमालयन रिम फिल्म एक्जिभिसनले फिल्म प्रदर्शन, कार्यशाला र संवादमार्फत सांस्कृतिक आदानप्रदानको नयाँ ढाँचा प्रस्तुत गर्दै सभ्यताबीचको आपसी सिकाइलाई जीवन्त र मूर्त रूपमा प्रवद्र्धन गर्ने प्रभावकारी नमुना स्थापित गरेको जनाएको छ । यो प्रर्दशनी ३ दिन त्रिभूवन विश्वविद्यालय, ३ दिन काठमाडौं विश्वविद्यालय र १ दिन लुम्बिनी बौद्ध विश्वविद्यालयमा सञ्चालन हुनेछ ।