काठमाडौं । हास्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’ को डेब्यू निर्देशकीय फिल्म ‘झरिपछिको इन्द्रेणी’ मा दर्शकले नयाँ र पुरानो पुस्ताका कलाकारहरूको सहकार्य हेर्न पाउनेछन् । यो फिल्मबाट गणेश उप्रेती, रमेश उप्रेती, दीपाश्री निरौलाजस्ता दिग्गज कलाकारको अभिनय छ । उनीहरुसँगै नयाँ पुस्ताका प्रियना आचार्य ‘मुन्नी’, विमोचन दवाडी, जेसिका पोखरेललगायतका कलाकारको पनि अभिनय छ ।
प्रियना फिल्मले अहिलेको वर्तमान राजनीतिक अस्थिरता, त्यसमा जनता अनि देशमा परेको असर कथा बुनेकोले दर्शकले मनपराउनेमा ढुक्क छिन् । ‘त्यसमा पनि जेनजी युवापुस्ता के चाहन्छन् । स्पेशली त्यसमा जेनजी प्रोटेस्ट पनि देख्यौं । युवाहरुको आक्रोस, देशमा सिस्टम नभएपछि त्यसले कति असर पारेको छ । भविष्यप्रतिको चिन्ताले विदेशीएका नेपालीको मन जित्ने विश्वास छ,’ उनले भनिन् ।
फिल्मको कथा कलाकार विमोचनकै वरपर घुमेको छ । त्यसकारण पनि उनी आफू रजतपटमा स्थापित हुनेमा विश्वस्त छन् । ‘मैलेले झरीपछिको इन्देणीमा गरेको मेहनत पर्दामा देखिन्छ । यो फिल्म निर्माणमा जति मेहनत लागेको छ, त्यो मेहनत पर्दामा हेर्दा दर्शकको मन छुन्छ जस्तो लाग्छ’, उनी भन्छन् ।
डेब्यू कलाकार जेसिका फिल्मले आफ्नो करियरलाई सर्पोट गर्नेमा ढुक्क छिन् । ‘फिल्मले हाम्रे देशमा अहिले जे भयो । त्यो हुनुभन्दा अगाडी नै स्कृप्ट लेखनसहित छायांकन समेत सकिएको थियो । उहाँहरुले पहिले नै फ्युचर थाहा थियो जस्तो लाग्छ । यस्तो पनि हुनेछ है खालको कन्टेक्स्ट नै लिएर बनाउनु भएको थियो, त्यसैले पनि यो सिनेमाले दर्शकको मन जित्ने देखिन्छ,’ उनले भनिन् ।
नागराज इन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको पिःल्ममा गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, अर्जुन घिमिरे (पाँडे), प्रियना आचार्य (मुन्नी), अंशु महर्जन, राजेन्द्र नेपाली, लक्षणा राईको अभिनय छ । फिल्म आगामी पुष ४ गते रिलिज हुँदैछ ।






