काठमाडौं । आगामी पुष ४ गते रिलिज हुने फिल्म ‘झरिपछिको इन्द्रेणी’को ओएसटी ‘आम नेपाली बुवा’ सार्वजनिक भएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको युट्युब च्यानलबाट आइतबार साँझ सार्वजनिक गीतमा बालेनकै स्वर छ । उनलाई कोरसमा दिक्षा उप्रेतीले साथ दिएकी छन् ।
बालेनले र्याप दिवंगत बुवालाई समर्पित गरेका छन् । र्यापको कोरसमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको कविता ‘कुन मन्दिरमा जान्छौ यात्री’ राखिएको छ । गीतमा बालेनकै शब्द छ । भिडियोमा फिल्मका दृश्यहरु राखिएका छन् ।
नागराज इन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको फिल्ममा गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, अर्जुन घिमिरे (पाँडे), प्रियना आचार्य (मुन्नी), अंशु महर्जन, राजेन्द्र नेपाली, लक्षणा राईको अभिनय छ ।
फिल्मबाट कलाकार विमोचन दवाडी र जेसिका पोखरेलले डेब्यू गर्दैछन् । बाल कलाकारमा दिप्सन चिलवालको अभिनय छ । फिल्ममा अर्जुन घिमिरे ‘पाँडे’को डेब्यू निर्देशन छ ।






