काठमाडौं । नेपाली फिल्मको प्रवर्द्धन, सम्मान तथा अन्तर्राष्ट्रिय पहुँच विस्तार गर्ने उद्देश्यसहित इन्टरनेशनल नेपाली फिल्म फेस्टिभल एण्ड अवार्ड (इन्फा) ले आफ्नो अन्तर्राष्ट्रिय चलचित्र महोत्सव तथा अवार्ड कार्यक्रम (इन्फा २०२६) भारतको नयाँ दिल्लीमा आयोजना गर्ने घोषणा गरेको छ। महोत्सव सन् २०२६ फेब्रुअरी १ देखि ३ तारिखसम्म सञ्चालन हुनेछ।
प्रतियोगिताका लागि सन् २०२५ मा प्रदर्शन भएका नेपाली फिचर फिल्महरु आह्वान गरिएको छ। फिल्म बुझाउने अन्तिम मिति २०२६ जनवरी ७ तोकिएको छ । महोत्सवअन्तर्गत उत्कृष्ट फिचर फिल्म, निर्देशन, अभिनय तथा विभिन्न प्राविधिक विधामा अवार्ड प्रदान गरिनेछ। साथै रेड कार्पेट अवार्ड समारोह, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्रकर्मी र समीक्षकहरूको सहभागिता, प्रिमियर शो, विशेष प्रदर्शन तथा सांस्कृतिक प्रस्तुतिहरू समेत आयोजना गरिनेछ।
यस वर्षको निर्णायक मण्डलको प्रमुख जूरीका रूपमा अभिनेता कृष्ण मल्ल रहनेछन्। जूरी सदस्यहरूमा निर्देशक तुलसी घिमिरे, अभिनेता सुनील थापा, अभिनेत्री विपना थापा तथा भारतका थिएटर अभिनेता अभतार साहनी रहेका छन्। अवार्डका अध्यक्ष राजेन्द्र घिमिरे र महोत्सव निर्देशक (नेपाल) जनकदीप पराजुली रहेका छन् ।






