काठमाडौं । यही शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘झरीपछिको इन्द्रेणी’को ओएसटी ‘आम नेपाली बुवा’ले १३ लाख बढी दर्शक पाएको छ । आइतबार राती सार्वजनिक यो र्याप गीतलाई दर्शकले अत्याधिक रुचाएका छन् ।
गीतको कमेन्ट बक्समा भिडियो हेरेका अधिकांश दर्शकले हालको नेपालको वर्तमान अवस्थालाई जस्ताको त्यस्तै चित्रण गरेको भन्दै प्रशंसा गरेका छन् । गीतमा र्यापसँगै शब्द पनि बालेनको छ । र्यापमा आम बुवाको संघर्ष, जिम्मेवारी, भावनात्मक सम्बन्धलगायत समाजको यथार्थ समावेश छ ।
नागराज इन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको फिल्ममा गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, अर्जुन घिमिरे (पाँडे), प्रियना आचार्य (मुन्नी), अंशु महर्जन, राजेन्द्र नेपाली, लक्षणा राईको अभिनय छ । यो फिल्मबाट कलाकार विमोचन दवाडी र जेसिका पोखरेलले डेब्यू गर्दैछन् । बाल कलाकारमा दिप्सन चिलवालले पनि अभिनय छ । फिल्मका निर्देशक अर्जुन घिमिरे ‘पाँडे’ हुन् ।
निर्देशक घिमिरे स्वयंको कथा रहेको फिल्मको पटकथा र संवाद गणेश कार्की, विशाल घिमिरेले मिलेर लेखेका हुन् । अनिशा सेन्दाङ लिम्बु निर्मात्री, अनु थापा, पंकज खड्का, सिर्जना खड्का, सुवास शर्मा र राम कार्कीको सह–निर्माता तथा लाइन प्रोड्युसरमा योगेश खतिवडा र विनोद कँडेल रहेको छन् ।







