काठमाडौं । भोलि शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आउने फिल्म ‘झरीपछिको इन्द्रेणी’ सेन्सर पास भएको छ । चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड)बाट यो सिनेमाले युनिभर्सल सर्टिफिकेट पाएको हो । युनिभर्सल सर्टिफिकेट पाएसँगै अब यो फिल्म हरेक उमेर समुहका दर्शकले सजिलै हेर्न पाउने भएका छन् ।
फिल्मका निर्देशक अर्जुन घिमिरे ‘पाँडे’ले नेपालमा हालै घटेको वास्तविक कथावस्तुको झल्को दिने फिल्म बनेको भन्दै सेन्सरका सदस्यले तारिफ गरेको बताए । यो फिल्ममा समावेश काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले स्वर दिएको गत सोमबार सार्वजनिक गीत ‘आम नेपाली बुबा’ले दर्शकमाझ उच्च हाइप बनाएको छ ।
फिल्मको अग्रीम टिकट बुकिङ पनि खुल्ला गरिएको छ । सुरुवाती चरणमा फिल्मलाई क्युएफएक्स सिनेमाजले काठमाडौं उपत्यकामा ११ शो र मोफसलमा ११ शोसहित २२ शो दिएको छ । यता, देशको दोस्रो ठुलो मल्टीप्लेक्स चेन आईएनआईले ६ शो, बिग मुभिजले २ शो, एफक्युब सिनेमाले २ शोसहित देशभर करिब ५९ शोमा अग्रीम टिकट बुकिङ खुल्ला गरेका छन् ।
नागराज इन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको फिल्ममा गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, अर्जुन घिमिरे (पाँडे), प्रियना आचार्य (मुन्नी), अंशु महर्जन, राजेन्द्र नेपाली, लक्षणा राईको अभिनय छ ।






