कास्की । चलचित्र बिकास बोर्डको सहयोगमा तथा मगर चलचित्रकर्मी संघको आयोजनामा १ महिने भिडियोग्राफी तथा फोटोग्राफी प्रशिक्षण शुरु भएको छ। कार्यक्रम नेपाल पुन मगर समाज, तल्लो गगनगौडाको व्यवस्थापनमा सञ्चालन भएको हो ।
चलचित्र बिकास बोर्डले यो बर्षलाई दक्षता अभिवृद्वी बर्ष २०८२ घोषणा गरेको छ । त्यसै अन्तरगत स्थानीय चलचित्रकर्मीको सीप, क्षमता र व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले सुरु गरिएको उक्त कार्यक्रम गण्डकी प्रदेशसभाकी उपसभामुखको प्रमुख आतिथ्यमा उद्घाटन गरिएको हो।
कार्यक्रममा नेपाल पुन मगर समाज केन्द्रीय समितिका अध्यक्ष खमबहादुर पुन मगरले समाजको सूचना विभाग संयोजक देव चोचाङी मगरको सहजीकरणमा कार्यक्रम सञ्चालनका लागि स्थानीयस्तरमै आवश्यक तयारी गरिएको जानकारी दिए। उनले गण्डकी प्रदेश स्तरीय चलचित्र विकास बोर्ड गठनको आवश्यकता औँल्याउँदै यसले प्रदेशका फिल्मकर्मीलाई थप अवसर र पहुँच प्रदान गर्ने धारणा राखे ।
मगर चलचित्रकर्मी संघका संस्थापक अध्यक्ष तथा मगर–गुरुङ फिल्मका पहिलो निर्देशक युवराज मास्की राना मगरले मगर फिल्मको ऐतिहासिक पृष्ठभूमिबारे चर्चा गरे। संस्थापक महासचिव मेजन पुन मगरले मगर फिल्मको विगत र वर्तमान अवस्थाको विश्लेषण प्रस्तुत गरे। संघका निवर्तमान अध्यक्ष भीम राना मगरले फोटो तथा भिडियोमार्फत आत्मनिर्भर बन्न सकिने सम्भावना रहेको उल्लेख गर्दै तालिमलाई गहिराइपूर्वक लिन अनुरोध गरे। गुरुङ चलचित्रका अध्यक्ष राजबहादुर गुरुङले आदिवासी समुदायका चलचित्रहरू चलचित्र विकास बोर्डमा निःशुल्क दर्ता गरिनुपर्ने विषय उठाउँदै विगतका प्रयासहरू स्मरण गराए।
पुस २ गतेदेखि नेपाल पुन मगर समाज, तल्लो गगनगौडाको सभाहलमा एक महिनासम्म सञ्चालन सुरू भएको उक्त तालिमको सहजीकरण उपाध्यक्ष देव चोचाङी मगरले गर्नेछन्।
चलचित्र विकास बोर्डको सहयोगमा सञ्चालन भइरहेको यो कार्यक्रम आदिवासी जनजाति तथा मातृभाषी चलचित्रको प्रवर्द्धनसँग प्रत्यक्ष रूपमा जोडिएको छ। बोर्डले लामो समयदेखि आदिवासी जनजाति समुदायका चलचित्रकर्मी, भाषा र संस्कृतिमा आधारित चलचित्रलाई प्राथमिकताका साथ प्रोत्साहन गर्दै आएको छ।
बोर्डका अनुसार गत वर्ष १४ वटा जातीय चलचित्र संगठनहरूले तालिम, कार्यशाला तथा चलचित्रसम्बन्धी कार्यक्रम सञ्चालन गरेका थिए, जसमा चलचित्र विकास बोर्डले सहकार्य र सहयोग गरेको थियो। यसले स्थानीय स्तरमै चलचित्र निर्माण, प्रविधि र सिप विकासमा महत्वपूर्ण योगदान पुर्याएको बोर्डको निष्कर्ष छ।






