हिरोभन्दा भिलेनमा हिट अक्षय खन्ना

मुम्बई(एजेन्सी) । बलिउडमा अधिकांश कलाकार राम्रो भुमिकामा अभिनय गरेर स्टार बन्छन्, तर केही कलाकार यस्ता छन्, जो भिलेन अर्थात नकारात्मक भूमिका निर्वाह गरेर दर्शकको मनमा बस्छन् । अभिनेता अक्षय खन्ना त्यस्तै अभिनेता हुन्, जो सुरुवाती दिनमा ‘बोर्डर’, ‘ताल’, ‘दिल चाहते’ जस्ता फिल्ममा रोमान्टिक र गम्भीर हिरोका रुपमा चिनिए । तर वास्तविक पहिचान भने उनले भिलेन चरित्र सुरु गरेदेखि पाए ।

सन् २००२ मा रिलिज फिल्म ‘हमराज’मा अक्षय पहिलोपटक फूल अन नेगेटिभ भूमिकामा देखिए । फिल्ममा बबी देओल र अमीषा पटेलको पनि अभिनय थियो । यो एक सस्पेन्स थ्रिलर फिल्म थियो ।

सैफ अली खान र अनिल कपुरको सुपरहिट फ्रेन्चाइजी फिल्म ‘रेस’मा अक्षयले नकारात्मक भुमिका निभाएर तहल्का मच्चाए । यसमा उनले छिटो दिमाग चल्ने, बेइमान र कुख्यात भाइको भुमिका निभाए । फिल्ममा सारा ट्वीस्ट उनकै कारण निस्किन्थ्यो ।

सन् २०२५ मा रिलिज फिल्म ‘छावा’मा अक्षय खन्नाले मुगल बादशाह ओरंगजेबको भुमिका निभाए । उनको यो ग्रे सेडवाला भुमिकालाई दर्शकले निकै मनपराए । फिल्ममा विक्की कौशलले छत्रपति संभाजी महाराजको भुमिका निभाएका थिए ।

हाल प्रदर्शनरत फिल्म ‘धुरंधर’मा अक्षयले खतरनाक र क्रुर भिलेनको भूमिका निभाएका छन् । उनको लुक्स र शैली देखेर दर्शक तथा फिल्मकर्मी चकित छन् । फिल्ममा अक्षयको नृत्य र उनको शैलीबाट दर्शक बढी प्रभावित छन् । अक्षय चाँडै फिल्म ‘महाकाली’मा असुर गुरु शुक्राचार्यको भुमिकामा देखिँदैछन् ।